गुटको चेपुवामा अष्टलक्ष्मी, डोरमणी प्रदेश ३ को मुख्यमन्त्री

पोखरा, माघ २६ ।
प्रदेश ३ को संसदीय नेतामा निकै चर्चा भएकी नेतृ अष्टलक्ष्मी शाक्य पराजीत भईन् । एमालेबाट संसदीय दलको नेतामा डोरमणी पौडेल निर्वाचित भएसँगै नेपालका सात वटै प्रदेशमा महिला मुख्यमन्त्री नहुने निश्चित भएको छ । मुख्यमन्त्री बन्नका लागि भएको छनौट चुनावमा पौडेलले ३४ मत ल्याउँदा शाक्यले २४ मत पाईन् । प्रदेश २ मा संघीय समाजवादी फोरमका लालबाबु राउत संसदीय दलको नेता बनेका छन् । सबैभन्दा ठूलो दल फोरमले नै त्यहाँ सरकार बनाउने पक्कापक्की जस्तै छ । प्रदेश ५ मा एमालेकै शंकर पोखरेल संसदीय दलको नेता बनिसकेका छन् । प्रदेश ६ र ७ मा माओवादीका पुरुष नेताहरु संसदीय दलको नेतामा चयन भइसकेका छन् ।
एमालेको मुख्यमन्त्री हुने पक्कापक्की रहेको प्रदेश १ र ४ मा पनि पुरुष सांसदहरु नै चर्चा र प्रतिस्पर्धामा छन् । यससँगै देशको शासन प्रणालीमा महिलालाई मूलधारमा ल्याउने तथा समावेशीकरणबारे संविधानको परिकल्पना पनि पराजित भएको विश्लेषण हुन थालेको छ ।