गाडी र मोटरसाईकल दुर्घटनामा ३ जनाको मृत्यु

काठमाण्डौं, पुस २२ ।
देशभरका विभिन्न ठाउँमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाईते छन् । ओखलढुङ्गा, चितवन, सप्तरी, मकवानपुर र सुनसरीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ३ मा मोटरसाइकल दुर्घटना हुँदा चालक ४५ बर्षिय शेरबहादुर मगरको घटनास्थलमै मृत्यु भएको छ । मगरले चलाएको बा ६५ प ७४७३ नम्बरको मोटरसाइकल सोमबार राति साढे १० बजे दुर्घटना हुँदा दुर्घटनामा मोटरसाइकल पछाडि सवार व्यक्ति भने सामान्य घाइते भएका छन् ।

यता, चितवनको रत्ननगर नगरपालिका ४ देबैलीमा रोकी राखेको मिनीट्रकमा मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी २९ वर्षीय युवक रहेका छन् । उनको सनाखत हुन बाँकी छ । सडक किनारमा रोकी राखेको ना ५ ख ६४४५ नम्बरको मिनी ट्रकमा सौराहाबाट टाँडीतर्फ जाँदै गरेको ना ३८ प ८३२८ नम्बरको मोटरसाइकल सोमबार राति सवा ११ बजे ठोक्किएको थियो ।

सप्तरीको बलानबिहुल गाउँपालिका २ झिझहा टोलमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । सप्तरीकै सुरुङ्गा नगरपालिका १० थलाहाका ३५ वर्षीय फुर्तिला मुखियाको घटनास्थलमै मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका ६ मा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री सोही ठाउँमा बस्ने २६ वर्षीय पुरूष र स्कुटर चालक इटहरी ५ का २३ वर्षीय सुरज झा रहेका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका ५ पिप्लेमा सोमबार मोटरसाइकल पल्टिँदा चालक गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारको लागि हेटौंडा अस्पताल पठाइएको छ । भित्री बाटोबाट कान्ति लोकपथतर्फ जाँदै गरेको ग १५ प ४२७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।