गलत काम हुने वित्तिकै संघीयतालाई दोष थुपरिन्छ–मुख्यमन्त्री भट्ट

पोखरा, भदौ २१ ।
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयता चमत्कार नभएको भन्दै गलत ब्याख्या नगर्न आग्रह गरेका छन् । मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले हरेकलाई संघीयताको बुझाई फरक परेको बताए । ‘संघीयतालाई हामीले आफ्नै तरिकाले बुझेका छौं । आफ्नै ब्याख्या छन् । कसैले यो चामत्कारिक हो भन्ने बुझेका छन् । कसैले यसलाई सफल हुनै सक्दैन भन्ने शंका छ, उनले भने–संरचना बढ्यो भने संघीयतालाई दोष, कर बढ्यो भने संघीयतालाई दोष । जे गलत भएपनि संघीयतालाई दोष दिने परम्परा गम्भीर छ । यसमा हामी सामुहिक रुपमा सोचाई बनाउनु जरुरी छ ।’

संविधानलाई चित्त बुझे एउटा र नबुझे अर्को हिसावले ब्याख्या गर्ने परम्पराले समस्या थपेको उनले बताए । ‘प्रदेशले एक हिसावले बुझेको छ, स्थानीय तहले अर्को हिसावले बुझेको छ । केन्द्रमा पनि मन्त्रालयपिच्छे फरक दृष्टीकोण छ, उनले थपे–एकात्मक प्रशासनिक तन्त्र र परिणाम भन्दा कानुनमा अल्झिने प्रशासनिक तन्त्र छन् । राजनीतिमा धेरै ठूला सपना दिने र जटिलताबारे हेक्का नराख्ने । सबै कुरालाई राजनीतिक हिसावले बेच्ने परम्परा नै संघीयताको गलत बुझाई हो ।’

सरकार गठन भएको छोटो समयमै असफलताको टिप्पणी गर्नेहरु सलबलाउन थालेको मख्यमन्त्री भट्टले गुनासो गरे । ‘६ महिनामै असफलताको टिप्पणी गर्नेहरु टाउको उठाउन खोजेका छन् । साझा दृष्टीकोण बनाएर यसलाई चिर्नुपर्छ । संघीय सरकार भनेको हाम्रो अभिभावक हो, उनी अघि भन्छन्–संघीयता सफल गर्ने मुल दायित्व छ । नीति नियम बनाईदिने र कार्यविभाजन गर्ने तथा सह अस्थित्व कायम गर्न सक्यो भने तीब्र गतिमा काम गर्न सक्छौं । नत्र प्रदेशमा धेरै समस्याहरु छन् ।’

केन्द्र सरकार र प्रदेशबीच टकराव कायम रहेको उनले बताए । ‘कार्यालय स्थापना, स्थानीय छुट्टी, मर्यादाक्रममा समस्या छ । संघीय सरकारले संरचना पठायो तर त्यो कुरा कमसेकम प्रदेश सरकारसँग पनि सुझाव लिनुपथ्र्यो । समन्वय हुन सकेको छैन । जसका कारण समस्या र जटिलताहरु आयो, उनले भने–जनतका अपेक्षा बढेका छन् । जनताहरु काठमाण्डौं जान छोडेका छन् । स्थानीय तहमै समस्या समाधान खोज्छ्न नभए प्रदेशमा जान्छन् । संविधानका अधिकार दिन सकिएन भने जनतामा आक्रोस बढ्छ ।’ साझा अधिकारका कानुनहरु निर्माण गरिदिन केन्द्र सरकारसँग उनको आग्रह छ ।