गर्भवती र सुत्केरीलाई गण्डकी सरकारले हेलिकोप्टरमा निशुल्क उद्धार गर्ने

पोखरा, फागुन ३ ।
गर्भवती र सुत्केरी महिलाको अकालमै ज्यान जाने गरेको भन्दै गण्डकी सरकारले हेलिकोप्टरमा निशुल्क उद्धार गर्ने निर्णय पनि गरेको छ । जोखिममा परेका सुत्केरी र गर्भवती महिलाको हेलि उद्धार (एयर लिफ्टिङ) गर्न कार्यविधि समेत पारित गरेको छ ।

‘कोही पनि महिला सुत्केरी हुँदा जोखिममा पर्नुपर्दैन । सरकारले उनीहरुको उद्धार गर्छ, निर्णय सार्वजनिक गर्दै चुमानले भने–हेलि उद्धारमा लाग्ने खर्च पनि सरकारले नै ब्यहोर्छ ।’ गर्भवती र सुत्केरी महिलालाई जटिलता व्यवस्थापनको लागि सुविधा सम्पन्न अस्तालमा एयरलिफ्ट गर्ने कार्यविधी’ मंगलबारको बैठकबाट पारित भएको हो ।

एयर लिफ्टिङ गर्दा स्थानीय स्तरमा उपचाररत स्वास्थ्यकर्मीको सिफारिस चाहिन्छ । ‘जोखिम हो वा होईन स्थानीय स्तरमै रहेका स्वास्थ्यकर्मीले जानकारी गराउँछन् । उनीहरुको सिफारिसको आधारमा प्रदेशको फोकल समितिले निर्णय गर्छ, चुमानले अघि भने–सम्बन्धित मन्त्रालयको समन्वयमा तत्काल हेलिकोप्टर पठाएर उद्धार गर्ने र सुविधासम्पन्न अस्पतालमा पु¥याउने काम हुन्छ ।’ उद्धारमा सहजताका लागि सिफारिस समितिको सचिवलाई संयोजक तोक्ने उनले जानकारी दिए । सरकारले तत्काल उपलब्ध हुन सक्ने जुनसुकै हेलिकोप्टर पनि प्रयोग गर्न सक्ने चुमानले बताए ।

मंगलबारको बैठकले प्रदेश मातहत आएका सबै अस्पतालमा प्रदेश सरकारले काम थाल्ने निर्णय गरेको छ । यसअघि संघ अन्तर्गत रहेका जिल्ला जनस्वास्थ्य र स्वास्थ्य कार्यालयहरुमा प्रदेश सरकारले आफ्नो कार्यालय खोल्ने सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिईन् ।