गर्भपतनमा कास्की नेपालकै पहिलो

पोखरा, असोज १५ ।
नेपालमा २०६६ सालभन्दा अघिसम्म गर्भपतनले कानुनी मान्यता पाएको थिएन । पछि सरकारले समेत गर्भपतनलाई मान्यता दिएर सूचीकृत स्वास्थ्य संस्थामार्फत् यसले वैधानिकता पायो । विभिन्न ठाउँमा सुरक्षित गर्भपतनका मान्यता प्राप्त स्वास्थ्य संस्था तथा क्लिनिक खुले । पछिल्लो समय नेपालमा सबैभन्दा बढी गर्भपतन हुने जिल्ला कास्की देखिएको अध्ययनले देखाएको छ ।

‘विभिन्न संस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने जिल्ला देखाएको छ,’ परिवार नियोजन संघ कास्की प्रमुख सन्तोष अधिकारीले भने, ‘गण्डकीमा हुने ८५ प्रतिशतभन्दा बढी गर्भपतन कास्कीमै हुने गरेको पाइएको छ ।’ गर्भपतन गर्न कास्कीमा मात्रै ४० वटा स्वास्थ्य संस्था खुलेको उनले जानकारी दिए ।

कास्कीमा गाउँभन्दा सहरका महिलाले बढी गर्भपतन गर्ने गरेको प्रमुख अधिकारीले बताउँछन् । उनले भने, ‘कास्कीका बजार यरियाका मात्रै ८३ प्रतिशतभन्दा बढी सेवाग्राही छन् । बाँकीमात्रै गाउँका महिला सेवा लिन आउँछन् ।’ प्रदेशकै राजधानी र अन्य ठाउँभन्दा विशेषज्ञ सुविधा पाउने भएकाले कास्कीमा धेरैले गर्भपतन गर्न आउने गरेको उनले सुनाए ।

नेपाल स्वास्थ्य तालिम केन्द्रले बुधबार पोखरामा गरेका चौथो राष्ट्रिय सुरक्षित गर्भपतन दिवस कार्यक्रममा अधिकारीले यस्तो तथ्य बाहिर ल्याएका हुन् । कास्कीमा असुरक्षित गर्भपतन समस्या बढिरहेको समेत अधिकारीले जनाए । ‘११ प्रतिशत त २० वर्षमुनिका युवती नै हुने तथ्य फेला परेको छ । तिनीहरु जाने भनेकै गैरकानुनी स्वास्थ्य केन्द्रमा हो,’ उनले भने ।

गर्भपतन गर्न आउनेमा सबैभन्दा बढी वैवाहिक बन्धनमा बाँधिएकाहरु नै हुने हुनाले त्यसलाई रोक्न सकिने अधिकारीको सुझाव थियो । ‘विवाह भइसकेपछि उनीहरुलाई परिवार नियोजनका साधनका प्रयोगबारे राम्रोसँग जानकारी दिन पाए केही हदसम्म गर्भपतनलाई रोक्न सकिन्छ,’ उनले भने । पोखरामा लिंग पहिचान गरेर गर्भपतन गर्ने समस्या बढेका कारण त्यसलाई पनि रोक्न आवश्यक कदम चाल्नुपर्ने उनले औंल्याए ।–पत्रकार विकास रोकामगरले समाधान दैनिकका लागि खवर लेखेका हुन् ।