गण्डकी हस्पिटलमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोप

पोखरा, फागुन २७ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) मा सुत्केरीको उपचारका क्रममा ज्यान गएको छ । कास्कीकै निर्मलपोखरीकी धनमाया पोख्रेलको आईतबार विहान ६ बजे ज्यान गएको हो । सुत्केरीको मृत्युपछि आफन्तजनले अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले लाश बुझ्न मानेका छैनन् । लापरबाहीले नै धनमायाको मृत्यु भएको मृतकका दाजु रमेश पोख्रेलले बताए ।
उनको शुक्रबार देखि अस्पतालमा उपचार चलिरहेको थियो । ‘ब्यथा लाग्ला जस्तो भएपछि उपचारका लागि अस्पताल ल्याएको हो । डेलिभरी नर्मल भयो, उनले भने–डाक्टरले नर्मल छ भनेपछि हामी ढुक्क भयौं । खतरा रहेको डाक्टरले भन्नुभएन । अहिले एक्कासी अपरेशन गरेर मृतक घोषणा पो भयो ।’ उनका अनुसार २ पटक सम्म अपरेशन गरिएको छ । अधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालले जनाएको छ । डाक्टरहरुको लापरबाहीले नै उनको मृत्यु भएको दाजु रमेशले गुनासो गरेका छन् । ३२ बर्षिय पोखरेलको अघिल्लो जेठमा विबाह भएको थियो । यो पहिलो बच्चा हो । बच्चाको अवस्था चाहीँ सामान्य रहेको अस्पतालले जनाएको छ ।