गण्डकी सरकारले हजार शैयाको अस्पताल बनाउने, अध्ययन पूरा

पोखरा, साउन २० ।
गण्डकी प्रदेशको सरकारले १ हजार शैयाको अस्पताल बनाउने प्रक्रिया सुरु गरेको छ । विशेष समिति गठन गरेर अस्पतालको पूर्व सम्भाब्यता अध्ययन गरिसकेको छ । सुविधासम्पन्न पाँचवटा विशिष्टीकृत (स्पेसलाइज्ड) रोगको उपचार गर्ने अस्पताल निर्माणको योजना अघि बढाएको हो ।

प्रदेशभित्र विशेष पूर्वाधार नहुँदा अहिले जटिल रोगका बिरामीले उपचारमा सास्ती खेप्दै आएका छन् । धेरैले राजधानी र विदेशमा पुगेर उपचार गराईरहेका छन् । प्रदेश सरकारले एक हजार शैयाको ‘जनरल’ सहित मुटु, मिर्गौला, क्यान्सर, महिला र बालरोगको उपचार गर्ने गरी विशिष्टीकृत अस्पताल बनाउन लागेको जनाएको छ ।

अध्ययन टोलीले प्रतिवेदन सामाजिक विकास मन्त्री नरदेवी पुनलाई बुझाएको छ । गत जेठ २९ गते मन्त्रीस्तरीय निर्णयबाट प्राडा डुकबहादुर क्षेत्रीको संयोजकत्वमा चिकित्सक र अर्थशास्त्रका प्राध्यापक सहभागी एक टिम गठन भएको थियो । त्यही टिमले अध्ययन गरेर प्रतिवेदन बुझाएको हो ।

पूर्वाधार बनाउने ठाउँका लागि मात्र झन्डै एक दर्जन ठाउँ प्रश्ताव गरिएको छ । सार्वजनिक नगरिएको प्रतिवेदनमा पोखरा लेखनाथ महानगरभित्र र तनहुँको केही ठाउँ पूर्वाधार बनाउनका लागि सम्भावित क्षेत्र तोकिएको छ । सरकारी मापदण्डअनुसार एक सय शड्ढयाका लागि कम्तीमा २५ रोपनी जग्गा आवश्यक पर्छ । एक हजार शैयाका लागि कम्तीमा दुई सय ५० रोपनी जग्गा चाहिन्छ । त्यसबाहेक पाँचवटा विशिष्टीकृत रोगको उपचार गर्ने अस्पतालको पनि शैया तोकिएको छ ।

विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउनुपर्ने भएकाले अहिले लागत अनुमान भने नगरिएको समितिका एक सदस्यले बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अहिले पाँच सय शय्याको छ । प्रतिवेदन बुझेपछि मन्त्री पुनले पोखरालाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिनेमा आफू आशावादी रहेको बताइन् । उनले अस्पताल निर्माणको लागि आवश्यक प्रक्रिया तत्काल सुरु गर्ने जानकारी दिईन् ।