गण्डकी सरकारले अत्यधिक बढायो गाडीमा कर, एउटै गाडीले ६५ हजारसम्म तिर्नुपर्ने

पोखरा, असार २४ ।
गण्डकी सरकारले आगामी वर्षदेखि लागू हुनेगरी सवारी साधनको कर अत्यधिक बढाएको छ । एउटै गाडीमा वर्षको १० हजार सम्म कर बढाइएको हो । गण्डकी प्रदेश सरकारको प्रमुख आम्दानी हो, यातायात क्षेत्र । आगामी वर्ष ९ अर्ब ९० करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको गण्डकीले गाडीमा लाग्ने कर अत्यधिक बढाएको छ । करको दायरा खोज्नुको सट्टा उठाइरहेको करको शीर्षकमा दर अधिक बढाएपछि सरकारको आलोचना भएको छ ।

गाडीको प्रकृति छुट्याएर सबैभन्दा बढी २५ सय देखि २९ सय सीसी क्षमताका गाडीको कर वार्षिक १० हजार बढाएको हो । हाल वार्षिकरूपमा ४० हजार कर तोकिएका यी गाडीमा आउँदो वर्षदेखि ५० हजार तिर्नुपर्ने भएको छ । हालसम्म कर नलिइएको विद्युतीय गाडीमा पनि अब कर लाग्ने भएको छ । विद्युतीय मोटरसाइकल÷स्कुटरले १ हजारदेखि २ हजारसम्म कर तिर्नुपर्छ ।

जिप, कार भ्यान, माइक्रोबस र बसले १० हजारदेखि २० हजारसम्म कर बुझाउनुपर्ने भएको छ । दुइपांग्रे सवारीमा पनि सीसी छुट्याएर कर लिन लागिएको छ । १२५ सीसी क्षमताका सवारीले ३ हजार, १५० सम्म ५ हजार, २२५ सम्म ६ हजार ५ सय, ४ सयसम्म ११ हजार, ६५० सम्म २० हजार र त्यसमाथिका सवारीलाई ३० हजार कर तोकिएको हो । एक हजार सीसीसम्म क्षमताका निजी सवारी साधनले चालू वर्षभन्दा २ हजार बढाएर वार्षिक रुपमा २२ हजार बुझाउनु पर्ने भएको छ भने एक हजारदेखि १५ सय सीसी क्षमताका गाडीको कर तीन हजार बढेर २५ हजार पुगेको छ ।

टिप्परले ४२ हजार, कृषि क्षेत्रमा प्रयोग हुने ट्रयाक्टर, पावरटेलरलाई ३ हजारसम्म कर बढाइएको छ । मिनिट्रक÷मिनिबसको कर २७ हजार कायम गरिएको छ । ट्रक र बसले भने ३५ हजार तिर्नुपर्छ । डोजर, एक्साभेटर, लोडर, क्रेन, मिनिटिप्परले ४० हजार तिर्नुपर्छ । अहिले २९ सयदेखि माथि सीसी क्षमताका सवारीले वार्षिक रूपमा ५६ हजार कर तिर्दै आएकोमा आगामी वष ६५ हजार तिर्नुपर्ने गरी ऐन बनाइएको छ ।

सबैप्रदेशमा समान करको दर कायम गराउनका लागि बृद्धी गरिएको अर्थमन्त्री रामजी बरालले जानकारी दिए । गण्डकी प्रदेशमा मात्रै २ लाख ८६ हजार सवारी साधन दर्ता छन् । यि गाडीबाट सरकारले १ अर्व ८ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।