गण्डकी सरकारको बजेट आज, कति आउँदै छ बजेट ?

पोखरा, असार १ ।
सरकारले तयार गरेको मध्यमकालीन खर्च संरचनाले आगामी आर्थिक बर्षका लागि गण्डकी प्रदेश सरकारको बजेट ३४ अर्व भन्दा बढी हुने प्रक्षेपण गरेको थियो । सोही हाराहारीमा बजेट ल्याउने तयारी सरकारले गरेको छ । अर्थमन्त्री किरण गुरुङले ३५ अर्वभन्दा ठूलो आकारको बजेट नआउने बताएका छन् । ३२ देखि ३४ अर्व हाराहारीमै बजेट ल्याउने तयारी छ ।

‘केन्द्रले दिने अनुदान पनि घटेको छ । आन्तरिक आम्दानी पनि खासै बढ्न सकेको छैन,’ उनले भने, ‘बजेटको आकार मात्रै बढाएर खासै केही हुँदैन । यथार्थ बजेट ल्याउन सरकार लागिरहेको छ ।’ केन्द्र सरकारले दिने आगामी बर्षको अनुदानमा घटेको छ । गण्डकी प्रदेशलाई अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत १२ अर्ब ४६ करोड ३० लाख रुपैयाँ परेको छ ।

यो रकम चालु वर्षको भन्दा ८१ करोड रुपैयाँ कम हो । मध्यमकालिन खर्च संरचनाले २१ अर्व १२ करोड रुपैयाँ नेपाल सरकारले अनुदान दिने अनुमान गरेको थियो । तर अनुमान भन्दा झण्डै १० अर्व कम अनुदान पाएको छ । यसलाई मुल्यांकन गर्दा चालू बर्षको भन्दा खासै बजेट बढ्ने देखिदैन । यद्यपी १० अर्व जति बढाएर नयाँ बजेट प्रश्तुत गर्न लागेको मन्त्रालय श्रोतले जनाएको छ । आगामी बर्ष १० अर्व ४७ करोड राजश्व संकलन गर्ने लक्ष्य छ भने डेढ अर्व बैदेशिक अनुदान लिने र १ अर्व हाराहारीमै आन्तरिक ऋण जुटाउने अनुमान थियो ।

सरकारको अनुमान भन्दा भिन्न हिसावले गतिविधि चलेका छन् । संघीय सरकारले वित्तीय समानीकरण शीर्षकमा रकम बढाए पनि सशर्तमा भने घटाएको छ । वित्तीय समानीकरणमा आउने वर्षका लागि ७ अर्ब ११ करोड रुपैयाँ छुट्याइएको छ भने सशर्त अनुदानमा ५ अर्ब ३५ करोड रुपैयाँ छुट्याएको छ । विकेन्द्रकरण मार्फत समृद्ध नेपालको परिकल्पना गरिएपछि संघीयतालाई मजबुत बनाउने कुरामा केन्द्र सरकार खासै उदार देखिएको छैन ।

चालू बर्षमा २४ अर्व २ करोड रुपैयाँको बजेट बनाएर कार्यान्वयन थालेको सरकारले मुश्किलले ३० प्रतिशत हाराहारीमा खर्च गरेको छ । कर्मचारी अभाव र भौतिक संरचनाको कारण देखाउँदै सरकारले खर्च रकम कम भएको दावी गरेको छ ।