गण्डकी मेडिकल कलेज–दुई पक्षको अडानले दिनहूँ तनाव

प्रकाश ढकाल
पोखरा, फागुन १५ ।
आन्दोलनरत विद्यार्थी र कलेज प्रशासन दुवैको अडानका कारण गण्डकी मेडिकल कलेजको तनाव साम्य हुने संकेत छैन । विद्यार्थीहरु आफ्ना मागमा अडिग छन् भने कलेज प्रशासन माग पूरा नगर्ने पक्षमा छ । १ महिनाअघि देखि रोकिएको कलेजको पठनपाठन अहिलेसम्म पनि सुरु भएको छैन । माग सुनुवाई नगरेपछि विद्यार्थीले कलेजमा ताला ठोकिदिएका छन् भने अस्पतालको ओपिडि कक्षमा समेत तालाबन्दी गरिदिए । अबैध रुपमा लिएको शुल्क फर्काउनुपर्ने र त्रिभुवन विश्वविद्यालयले तोकेको नियमभित्र रहेर पढाउनुपर्ने विद्यार्थीको मुख्य माग छ ।

नियम अनुसार नै रकम लिएको भन्दै कलेज प्रशासन लिएको शुल्क फिर्ता गर्न मान्दैन । लामो समयसम्म दुई पक्षको दोहोरी चलिरहँदा र निरन्तर समाचारहरु प्रकाशन प्रशारण भईरहँदा समेत सम्बन्धित निकाय मौन छ । कलेजले गलत गरे जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुपर्ने चिकित्सा शास्त्र अध्ययन संस्थानको पूरानै सूचना छ । तर जिल्ला प्रशासन स्पष्ट कारबाही नतोकेकोले दायरामा ल्याउन समस्या भएको भन्दै पन्छिँदै आएको छ ।

आन्दोलनकै बीच अस्पतालमा लगाईएको ताला प्रहरी सहयोगमा खोल्न लाग्दा सोमबार अस्पताल परिसरमै हात हालाहाल भयो । ताला खोल्न लाग्दा विद्यार्थीले अवरोध गरे भने प्रहरीले जबरजस्ती ताला फोडिदियो । त्यसपछि विद्यार्थीहरुले परिसरभित्रै नाराबाजी गरे । ताला पुनः लगाउन खोज्दा प्रहरीसँग केहीबेर झडपकै अवस्था सिर्जना भएको थियो ।

‘विद्यार्थीले लगाएको ताला बार्ता नबसिकन प्रहरी ल्याएर खोल्न खोजे । हामीलाई त्यो स्विकार भएन । पुनः ताला लगाउन खोज्दा उल्टै हातपात गरियो, आन्दोलनको नेतृत्व गरिरहेकी विद्यार्थी रविना शर्मा भन्छिन्–ताला फुटाएर केहीबेर अस्पताल खोलियो । हाम्रो अवरोधपछि अहिले सेवा फेरि बन्द भएको छ ।’ प्रहरीले खोलेपनि रिसेप्सनमा चाहीँ विद्यार्थीले पुनः तालाबन्दी गरिदिएका छन् । अस्पतालले भने इमर्जेन्सीमा समेत विद्यार्थीले अवरोध पुर्याएको आरोप लगाएको छ । विद्यार्थीहरुको रिले अनसन अहिले पनि जारी छ । माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने उनले सुनाईन् ।

अर्का विद्यार्थी प्रविण गौतम चाहीँ कलेजभित्र प्रशासनको हस्तक्षेप सैह्य नभएको बताउँछन् । ‘प्रहरीलाई ल्याएर ताला फुटाउनुपर्ने अवस्था छैन । हाम्रो माग पूरा भए आँफै खोलिदिन्छौं, उनले भने–प्रशासनको दवावले माग पूरा नभएसम्म अस्पताल खुल्नेवाला छैन । विद्यार्थीलाई कमजोर नठाने हुन्छ ।’ आफ्ना माग बोकेर केही विद्यार्थीहरु काठमाण्डौं पनि पुगेका थिए । तर गृहमन्त्रीलाई भेट्न नपाएपछि त्यसै फर्किए । ‘केहीबेर भन्दै हामीलाई दिनभर कुराइयो, हामी मन्त्री र राज्यमन्त्रीको सचिवालयमा निरन्तर फोन गरिरह्यौँ, तर अन्तिममा आएर सिडियो कार्यालयको कार्यक्षेत्र भएकाले उतै जान भनियो,’ एक विद्यार्थीले भने ।’ कलेजविरुद्ध ठगी मुद्दा हाल्ने तयारी भइरहेको उनले बताए । परीक्षालाई देखाएर विद्यार्थीसँग कलेजले ब्ल्याकमेलिङ गरिरहेको उनको आरोप छ ।

८६ विद्यार्थीले छोडे परीक्षा

सन् २०१५ ब्याचका ८३ र ०१४ ब्याचको पूरक परीक्षामा सहभागी हुनुपर्ने ३ गरी ८६ विद्यार्थीले आइतबारदेखि सुरु भएको एमविविएस तेश्रो बर्षको परीक्षा दिएनन् । माग तेस्र्याएर आन्दोलन गरिरहेका उनीहरुले परीक्षाको फाराम समेत भरेका थिएनन् । माग सुनुवाई नगरे परीक्षाको प्रवाह नभएको उनीहरु बताउँछन् । ‘कलेजकै लापरबाहीले हामी आन्दोलनमा छौँ । कलेजले हाम्रा मागको सुनुवाइ गरेन । हामीले परीक्षाको फारम भरेनौँ, उनीहरु भन्छन्–फारम नभरेपछि परीक्षा दिने कुरै भएन । अझै पनि हाम्रा मागलाई नजरअन्दाज गरिन्छ भने त्यसको परिणाम कलेजले भोग्नुपर्छ ।’

कलेजभित्र चरम भ्रष्टाचार भएको भन्दै उनीहरुले सरोकारवालाको ध्यानाकर्षण समेत गराए । ‘हामीले आफ्नो मात्र माग तेस्र्याएका छैनौँ । अब आउने विद्यार्थीलाई भ्रष्टाचारको चंगुलबाट जोगाउने अभियान चलाइरहेका छौं, आन्दोलनरत विद्यार्थीहरुले भने–हाम्रो अभियानमा सबैको सहयोग चाहिएको छ । अख्तियारले पनि गम्भीर रुपमा छानविन गरोस्, हाम्रो आग्रह छ ।’

अवैध रूपमा लिइएको शुल्कबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि त्यसबारे कुनै कारबाही सुरु नभएको उनीहरुले बताए । कलेजले अबैध रूपमा उठाएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारले जारी गरेको नीति–नियम र निर्णय कार्यान्वयन हुनुपर्ने, विद्यार्थीले तिरेको सम्पूर्ण रकमको बिल उपलब्ध गराउनुपर्ने र विद्यार्थीले तिर्नुपर्ने शुल्कलाई आधार बनाएर परीक्षामा सहभागी गराउनुपर्ने तथा परीक्षाफल हेर्नबाट वञ्चित गराउन नहुने माग उनीहरुको छ । विद्यार्थीहरुको आन्दोलनलाई अभिभावक र विद्यार्थी संगठनहरुको पनि साथ छ ।

तर कलेज प्रशासन चाहीँ गैरकानुनी रकम नलिएको दावी गर्छ । सरकारले तोकेकै शुल्क लिएर पढाईरहेको कलेजका अध्यक्ष खुमा अर्यालले बताए । ‘विद्यार्थीहरु अस्पताललाई नै बन्धक बनाएर कुरा गर्ने भन्छन् । मैले त अस्पताल खोलौं भनेको हो । टियूले एक्सन लिईसकेपछि आन्दोलन गर्नुको तुक छैन, उनले भने–केही पनि नलुकाईकन सबै डकुमेण्ट टियुमा दिएका छौं । समिति पनि बनेको छ । समितिले गरेको निर्णय म पालना गर्छु ।’

सरकारले दिएको अधिकारले सम्झौता गरेरै रकम लिएको भन्दै उनले यसअघि लिईएको शुल्क फिर्ता गर्न नसक्ने बताए । ‘सरकारले कलेजलाई अधिकार दियो, त्यसलाई प्रयोग गरेर शुल्क लिएँ । नयाँ नियम बनेपछि त्यो पनि लागू गरेको छौं, उनी भन्छन्–पैसा तलमाथी गरेको छैन । गलत भए कानुनको कठघरामा बस्न तयार छु ।’ हुल हुज्जतले निर्णय गर्न नमिल्ने भन्दै उनले स्पष्ट छानविन गरेर समितिले निर्णय गर्ने बताए ।

आन्दोलनबारे बुझ्न नेपाल मेडिकल काउन्सिलको टोलि शुक्रबार पोखरा आएको थियो । काउन्सिलका कार्यकारी सदस्यहरू डा. विश्व दवाडी, डा. सुनील शाह र डा. कालुसिंह खत्री सम्मिलित तीन सदस्यीय टोली विद्यार्थी र कलेज प्रशासन सँग छुट्टाछुट्टै छलफल गरेर फर्किएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अनुगमन निर्देशनालयका डा. ओमप्रसाद बरालको टोली पनि स्थलगत अनुगमन गरेको छ ।