गण्डकी प्रदेशमा कार्यपालिका सदस्यलाई पनि वडाध्यक्ष सरह तलव

पोखरा, असार २५ ।
गण्डकी प्रदेशका सबै स्थानीय तहका कार्यपालिका सदस्यले वडाध्यक्ष सरह सुविधा पाउने भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

कार्यपालिका सदस्य र वडाध्यक्षको समान हैसियत भएकोले पारिश्रमिक र सुविधा पनि समान बनाईएको सरकारले जनाएको छ । यसअघि एउटा कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहका कार्यपालिका सदस्य र वडा सदस्यहरुको पारिश्रमिक बढाउने सार्वजनिक गरेका थिए ।

स्थानीय तहका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धि ऐनमा गाउँपालिकाका वडाध्यक्षहरुलाई १८ हजार, नगरपालिकाका वडाध्यक्षलाई २० हजार र महागनरका वडाध्यक्षलाई २५ हजार तोकिएको छ । वडाध्यक्षसरह कार्यपालिका सदस्यले पारिश्रमिक पाउन लागेका छन् भने वडा सदस्यहरुको पनि तलव बढाईएको छ ।

आगामी आर्थिक बर्षदेखि गाउँपालिकाका वडासदस्यहरुलाई ६ हजारबाट बढाएर ९ हजार तलव पु¥याईएको छ भने नगरपालिकाका वडा सदस्यको तलव १० हजार र महानगरका वडासदस्यको तलव १२ हजार ५ सय रुपैयाँ पुगेको छ । जिल्ला समन्वय समितिका सदस्यहरुको पनि ११ हजारबाट बढाएर १५ हजार रुपैयाँ तलव पु¥याईएको छ ।