गण्डकी प्रदेशका सबै नाका बन्द, लेखनाथमा कोरोना उपचार अस्पताल

पोखरा, चैत १० ।
गण्डकी प्रदेशसँग सीमा जोडिएका सबै नाका आजदेखि बन्द भएका छन् । कोरोना पुर्वतयारी तथा नियन्त्रण उच्चस्तरीय निर्देशक समितिको बैठकले प्रदेश छिर्ने सबै नाकामा यात्रुबहाक गाडी आवतजावत रोक्ने निर्णय गरेको हो । तनहूँको मुग्लीन, स्याङजाको रामदी, मुस्ताङको कोरला, गोरखाको आरुघाट र बेनीघाट, बागलुङको ढोरपाटन लगायत नाकाबाट अत्यावश्यक बाहेकका सबै गाडी आउजाउ गर्न बन्द हुनेछ ।

यस्तै, समितिले लेखनाथको सामुदायिक अस्पताललाई प्रदेशको कोरोना उपचार गर्ने विशेष अस्पतालको रुपमा सञ्चालन गर्न लागेको छ । ६० बेड चलाउने गरी आवश्यक उपकरण जडान आजैदेखि थालिने सरकारका प्रबक्ता रामशरण बस्नेतले बताए । उनका अनुसार प्रदेशभित्रका सबै अस्पतालका ओपीडी सेवा पनि ठप्प हुनेछ ।

प्रदेशमा हालसम्म एकजना पनि कोरोना संक्रमित विरामी भेटिएको छैन । कोरोना उपचारका लागि मालेपाटन स्थित कृषि केन्द्र्रमा १ सय बेडको क्वारेन्टाइन तयार गरिनेछ । बाटुलेचौरको मातृशिशु मितेरी अस्पताललाई पनि कोरोनाको उपचारका लागि प्रयोग गर्ने निर्णय समितिले गरेको हो ।

Photo-Sudarshan Ranjit