गण्डकीले पाएन कोरोना जाँच्ने मेसिन

पोखरा, चैत १६ ।
गण्डकी सरकारले कोरोना जाँच गर्ने मेसिन नपाउने भएको छ । संघ सरकारले ४ वटा प्रदेशलाई कोरोना परीक्षण मेसिन दिने निर्णय गरेपनि गण्डकीले त्यो सुविधा नपाउने भएको हो ।

चीनबाट ल्याइएको मेसिन प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर (पोलिमर चेन रियाक्सन) मेसिन पाउने छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश ५ को बुटवल वा नेपालगञ्ज तथा कर्णालीको सुर्खेतमा ल्याब स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश १ को धरानमा परीक्षण सुरु भइसकेको छ ।

चीनबाट ल्याइएको पाँचवटा पीसीआर मेसिनमध्ये एक थान भने हाल काठमाडौंमा नै राखिनेछ । उच्चस्तरीय समितिले प्रत्येक प्रदेशमा एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री पठाउने तयारी गरेको छ ।