गण्डकीमा बन्यो ११ मन्त्रालय, कसलाई कुन जिम्मेवारी ?

पोखरा, जेठ ५ ।
गण्डकी सरकारले मन्त्रालय बढाएर ११ वटा पु¥याएको छ । यसअघि ७ मन्त्रालय रहेको यहाँ बैशाख १६ गते एउटा थपिएको थियो भने बुधबार ३ वटा थपिएको हो । बुधबार नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ नयाँ मन्त्री पनि नियुक्त गरेका छन् । उनीहरुको शपथ बुधबार नै भएको छ ।

यसअघिको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पहिले जस्तै छ भने अरु मन्त्रालयको नाम हेरफेर गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयलाई अर्थ मन्त्रालय बनाईएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर दुईवटा बनाईएको छ ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था र उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय छुट्याईएको हो । सामाजिक विकास मन्त्रालयलाई तीनवटामा टुक्रा पारिएको छ । स्वास्थ्य तथा जनसंख्या, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास र युवा तथा खेलकुद मन्त्रालय बनेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको नाम फेरेर भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण बनाईएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर दुईवटा कायम गरिएको छ । पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति र वन, वातावरण तथा भू संरक्षण छुट्टाछुट्टै बनाईएको हो ।

नयाँ मन्त्रीहरुको जिम्मेवारी पनि फरक छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मा आफैले राखेका छन् । अर्थमन्त्री किरण गुरुङलाई भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालय थपिएको छ ।

रामशरण बस्नेतलाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था, उर्जा, जलश्रोत तथा खानेपानी र कानून, सन्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । नरदेवी पुनको जिम्मेवारी कटौति गरिएको छ । उनलाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय छ । उनकै जिम्मेवारीमा रहेको युवा तथा खेलकुद मन्त्रालय स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले पाएका छन् ।

विकास लम्साललाई उनकै मन्त्रालयबाट फुटाईएको पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति र वन, वातावरण तथा भू संरक्षण मन्त्रालयको जिम्मेवारी दिईएको छ । सरकार अल्पमतमा परेपछि विपक्षी सांसदहरुलाई फकाउन गुरुङले मन्त्रालय फुटाएका हुन् ।