गण्डकीमा थप तीन जना संक्रमितको मृत्यु

पोखरा, बैशाख २५ ।
गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितले मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीका दुई र पर्वतका एक जनाको पोखरामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका ५ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । ती महिलामा वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका–१० का ८१ वर्षीय पुरुषको पनि शुक्रबार बेलुका ७ः२५ बजे मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनलाई शुक्रबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पर्वतको कुश्मा नगरपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बेलुका ५ः१८ बजे मृत्यु भएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा कडा खालको कोभिड निमोनिया देखिएको निर्देशनालयले बताएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।