गण्डकीका सांसदलाई सुनको लोगो

पोखरा, साउन ११ ।
गण्डकीका सांसदहरुलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । प्रदेशसभाले चीनबाट सुनजडित लोगो ल्याईएको हो । नयाँ लोगो पहिलेभन्दा ३३ गुणा महंगो छ । लोगोको डिजाईन पुरानै भएपनि धातुको रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ ।

यसअघि प्रदेशका मुख्मयन्त्री देखि मन्त्री र सांसदहरुले प्लाष्टिकको लोगो प्रयोग गर्दै आएका थिए । गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेर पठाईएको थियो । सांसदहरुले लगाएको लोगो एक वर्ष नपुग्दै धमिलिएपछि दीर्घकालीन बनाउन लागिएको हो ।

यसअघिको लोगोको मूल्य १ सय ९५ रुपैयाँमात्रै थियो । नयाँ लोगोको मूल्य ६ हजार ५ सय रुपैयाँ छ । सभामुख नेत्रनाथ अधिकारी नेतृत्वको कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा गठित ‘लोगो तथा पोशाक सिफारिस समिति’ ले गतसाल भदौ ३० गते गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो । सोही डिजाईनलाई चाँदीको धातु र बाहिरी कक्षमा सुनको घेरो बनाएर लोगो तयार गरिएको हो । लोगोभित्र प्रयोग गरिएको धानको बाला सुनको छ ।

प्रदेशसभाले पहिलो पटक सबै सांसदलाई निशुल्क लोगो उपलब्ध गराएको छ । त्यो हरायो भने पुनः ३ हजार रुपैयाँ तिरेर सांसदले प्रदेशसभाबाट खरिद गर्न पाउने छन् । ‘पहिलो पटक निशुल्क हो । पछि किन्नुपर्ने अवस्था आयो भने ३ हजार तिर्ने ब्यवस्था गरिएको छ,’ सांसद हरिशरण आचार्य भन्छन्, ‘प्रदेशसभाले निर्णय गरेर १ सय पिस मगाएको छ । यसको भुक्तानी सरकारले गर्ने छ ।’

पहिलो चरणमा ७५ पिस लोगो आईसकेको छ भने बाँकी २५ पिस पनि तयार भएको छ । लोगो बनाउन पहिलो चरणमा करिब ५ लाख भुक्तानी भैसकेको छ भने २५ पिसको चालू बर्षको खर्च बाट ब्यहोर्ने प्रदेशसभाका सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिए ।

खुला प्रतिष्पर्धामा निर्मित लोगोको डिजाईन प्रदेशसभाकै कर्मचारी विनित रानामगरले बनाएका हुन् । उनले बनाएको प्रदेशको लोगोमा दुई धानका बालाले घेरेको गोलाकारभित्र रहेको माछापुच्छ्रेको चुचुरोको आकार सहितको अन्नपूर्ण हिमश्रृंखला छ । त्यसभन्दा तल गाढा र फिका रङको पहाड छ । लोगोको माथिपट्टि देखिने हिमाल छ भने नेपालको नक्साभित्र गण्डकी प्रदेशको छुट्टै नक्सा तथा गैंडा र जरायो पनि छ । प्रदेश सांसदहरुले खैरो रंगको कोट लगाउनुपर्ने छ ।