गण्डकीका सबै मन्त्रीको दशैं भत्ता कोरोना कोषमा, कोरोनाको उपचार निशुल्क गरिने

पोखरा, कार्तिक ५ ।
गण्डकी प्रदेशका सबै मन्त्रीले आफ्नो दशैंभत्ता कोरोना कोषमा दिएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दशैंभत्ता बापत पाउने सबै रकम कोरोना कोषमा दिने निर्णय गरिएको हो ।

कोरोनाको उपचार, रोकथाम र नियन्त्रणका लागि रकम खर्च गर्ने गरि कोषमा दिईएको प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए । संकटको बेला भत्ता लिनु उपयुक्त नहुने भन्दै नलिने निर्णय गरिएको बस्नेतको भनाई छ ।

यो निर्णयले सबै मन्त्रीहरुको एकमुष्ट ४ लाख ३० हजार रुपैयाँ कोरोना कोषमा जम्मा हुने भएको छ । नियमानुसार मुख्यमन्त्रीको मासिक पारिश्रमिक ७० हजार छ भने मन्त्रीहरुको ६० हजार छ । उनीहरुले एक महिनाको तलव बराबर बार्षिक चाडपर्व खर्च पाउने ब्यवस्था छ ।

मन्त्रीका स्वकीय सचिवहरुले भने भत्ता पाउँछन् । यस्तै, गण्डकीले कोरोना संक्रमितको उपचार निशुल्क गर्ने निर्णय गरेको छ । संघ सरकारले नागरिकले आफै उपचार र परीक्षण गर्नुपर्ने बताईरहेका बेला गण्डकीले आफ्नो प्रदेशभित्रका सबै नागरिकको उपचारको जिम्मा लिएको हो ।