गण्डकीका तीन जिल्लामा कडा लकडाउन हुने

पोखरा, बैशाख २० ।
कास्की सहित गण्डकीका तीन जिल्लामा सरकारले कडा लकडाउन गर्ने भएको छ । कोरोनाको महामारी अस्वभाविक रुपमा बढेपछि कास्की, स्याङजा र बागलुङमा स्थानीय प्रशासनले मंगलबारदेखि कडा खालको लकडाउन घोषणा गरेका हुन् । बैशाख महिनाभर लकडाउनकै जस्तो गरी निषेधाज्ञाको सूचना जारी गरिएको हो । गत १५ वैशाखदेखि लगाइएको कास्कीको निषेधाज्ञा नागरिकले अटेरी गरेपछि कडा बनाउन लागिएको प्रशासनले जनाएको छ ।

हिजोआज कोरोना भाइरस तीव्र रुपमा फैलिएपछि रोकथामका लागि जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा कडा गर्ने निर्णय गरेको हो । यद्यपी सरकारले कोभिड नियन्त्रणका लागि उल्लेख्य काम भने गर्न सकेको छैन ।

आइतबार बसेको केन्द्रको जिल्लास्तरीय बैठकले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न आदेश जारी गरेको छ । एम्बुलेन्समा पनि बिरामी र कुरुवा गरी बढीमा २ जना चढ्न पाउनेछन् । दमकल, शववाहन, खाद्यसामग्री लगायत अत्यावश्यक गाडीहरु चल्ने छन् । यात्रुवाहक गाडीहरु पूर्ण रुपमा ठप्प हुने छन् ।

बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयले १ चौथाइ कर्मचारी राखेर आकस्मिक शाखाको काम मात्रै गर्ने छ । सरकारी पक्षबाट गर्नुपर्ने क्वारेन्टिन, आइसोलेसन, अस्पताल, आईसियू लगायत स्वास्थ्य उपकरणमा खासै चासो दिएको छैन ।

प्रदेश सरकारले पश्चिमान्चल क्षेत्रीय अस्पतालको स्तर बृद्धी गर्न लागेको छ । २ सय बेडको कोभिड उपचार कक्ष बनाउन लागेको सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिईन् । उनका अनुसार कर्मचारी केन्द्र सरकारसँग मागिएको छ । ५ हजार सिलिण्डर अक्सिजन पनि संघ सँग माग भएको पुनले बताईन् ।