गठबन्धनले अलमलियो नयाँ शक्ति

पोखरा, असोज २० ।
ठूला वाम शक्तिहरु एक ठाउँमा आएपछि उम्मेदवार छनौट र चुनावी माहौलमा पनि नयाँ समीकरण सुरु भएको छ । वाम एकतामा चुनावी सहकार्य हुने भएपछि यसअघि सिफारिस भएका उम्मेदवारहरु पनि हेरफेर हुन सक्ने बुझिएको छ । यसअघि कास्कीमा एमाले र माओबादीले पनि उम्मेदवार सिफारिस गरिसकेका थिए । तर नयाँ समीकरणपछि फिर्ता लिने र पुनः उम्मेदवार चयन गरिने दुवै पार्टीले जनाएको छ । यद्यपी ठूला दलहरु उम्मेदवार सिफारिसका लागि निरन्तर छलफलमा जुटिरहेका छन् । काँग्रेसले सबै क्षेत्रको प्रत्यक्ष र समानुपातिकको नामावली केन्द्रमा बुझाएको छ भने एमालेले पनि प्रत्यक्ष तर्फका सबै उम्मेदवारको नामावली तयार पारिसकेको छ । माओबादीले भने केही क्षेत्र मात्रै टुंग्याएर गठबन्धनको निर्णय कुरेको छ । अन्य साना दलहरु पनि केन्द्रिय निर्देशनमा अलमलिएका छन् ।
वाम गठबन्धन पछि काँग्रेसको नेतृत्वमा लोकतान्त्रीक गठबन्धनको पनि तयारी भैरहेको छ । जिल्लामा सक्रिय राप्रपा, संघीय समाजबादी फोरम, राप्रपा प्रजातान्त्रीक, नयाँ शक्ति नेपाल लगाएतका पार्टीहरु केन्द्रको निर्णय कुरिरहेका छन् । जसका कारण केही दलहरुले आन्तरिक रुपमा उम्मेदवार टुंग्याएपनि सार्वजनिक गर्न भ्याएका छैनन् । ‘आन्तरिक रुपमा हामी तयार छौं । नाम मात्रै सार्वजनिक गर्न बाँकी छ, संघीय समाजबादी फोरमका जिल्ला अध्यक्ष दिपक तामाङले भने–लोकतान्त्रीक गठबन्धनको होहल्लाले रोकिएका हौं । केही दिनभित्रै सार्वजनिक हुन्छ ।’ राप्रपा अध्यक्ष जयलाल पुनले पनि केन्द्रिय समितिबाट निर्देशन आउने वित्तिकै काम थाल्ने बताए ।
नयाँ शक्ति नेपाल पनि वाम गठबन्धनको अलमलमा छ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नै वाम गठबन्धनलाई सघाएपछि उनीहरु अहिले मौन छन् । तर कास्कीका सबै क्षेत्रमा उम्मेदवार टुंग्याएर केन्द्रमा नाम भने सिफारिस भैसकेको छ । नयाँ शक्तिले कास्की क्षेत्र नम्बर १ मा कर्णेल मदन केसी, २ मा हेम बहादुर थापा र ३ मा देवी सुवेदीको नाम टुंग्याएको छ । यस्तै प्रदेश सांसदका लागि १ नम्बर क्षेत्रको (क) मा नारायणहरी तिवारी, कमल थापा, कृष्ण रानाभाट र विकल पौडेलको नाम सिफारिस भएको छ भने (ख) मा रमेश सिके, आरसी कुवँर र खुशीमान गुरुङको नाम छ । २ नम्बर क्षेत्रको (क) बाट खड्क गुरुङ र (ख) बाट डम्बर केसीको नाम पठाईएको छ । क्षेत्र नम्बर ३ तर्फ (क) मा नारायण भण्डारी र (ख) मा तोयानाथ लम्साल, दामोदर त्रिपाठी र मीन पौडेलको नाम केन्द्रमा पुगेको जिल्ला संयोजक हेम बहादुर थापा (किरण) ले जानकारी दिए ।