कास्कीमा आएर गगनले भनेः नेकपाको नाममा जितेकालाई सांसद मान्न सकिँदैन

पोखरा, चैत ७ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले उपचुनावमा नेकपाको नामबाट निर्वाचित भएका जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न नसकिने बताएका छन् । पोखरामा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको भेलालाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मरिसकेकोले त्यो पार्टीको नाममा निर्वाचित व्यक्तिलाई सांसद मान्न नसकिने बताए ।

‘नेपाल कम्युनिष्ट पार्टी सकियो । कोही एमालेमा फर्किनुभयो, कोही माओबादीमा फर्किनुभयो । कास्की २ को सांसद कुन पार्टीको हो ?,’ उनले भने, ‘त्यो निर्वाचन खारेज हुनुपर्छ । नेपाल कम्युनिष्ट पार्टीको नामबाट आएको जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न सकिन्न ।’ उनले ति ठाउँमा जनताले प्रतिनिधि छान्न पाउनुपर्ने बताए ।

थापाले प्रधानमन्त्री ओली स्वेच्छाचारी भएर संसदसँग बदला लिन लागेको बताए । ‘प्रधानमन्त्री ओलीले सरकार चलाउने भए हाम्रो आपत्ति छैन । ओली प्रबृत्ति भनेको सरकार होईन, सत्ता हो । ओली प्रबृत्ति सिहं दरबारको सीमा भित्र बस्न खोजेन । फैलिएर अदालत पुग्न खोज्यो, अख्तियारमा पुग्न खोज्यो, निर्वाचन आयोगमा पुग्न खोज्यो,’ उनले थपे, ‘वहाँ के भन्ने ठान्नुहुन्छ भने, प्रधान न्यायधिसको कुर्चीमा बस्ने पनि मै हो, अख्तियार प्रमुख, निर्वाचत आयोग प्रमुख, अड्डा प्रशासन, सेना, प्रहरीको प्रमुख पनि मै हो भन्नुहुन्छ । सबैको प्रमुख मै हो भन्ने कुरा प्रजातन्त्रमा त्यो सम्भव छैन । वहाँ अहिले संसदसँग बदला लिँदै हुनुहुन्छ ।’ नेकपाले जनताबाट पाएको म्याण्डेट गुमाएकोले अव सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने थापाको तर्क छ ।