खोपको व्यवस्था गरी व्यवसाय संचालनको वातावरण बनाउन पोउवा संघको आग्रह

पोखरा, असार १६ ।
पोखरा उद्योग वाणिज्य संघले निषेधाज्ञा खुकुलो बनाइएकोमा सन्तोष व्यक्त गर्दै सबै व्यवसाय निर्वाध संचालनको अवस्था सिर्जना गर्न सरोकारवालासँग माग गरेको छ ।

कास्की प्रशासनले मंगलबार राति १२ बजेदेखि व्यापार–व्यवसाय गर्ने समयसीमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कायम गराएकोमा धन्यवाद दिँदै संघले स्वास्थ्य मापदण्ड पूरा गर्दै सबै व्यवसाय खोल्ने वातावरण निर्माणको लागि आग्रह गरेको हो ।

संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा जारी विज्ञप्तिमा यसअघि कायम गरिएको व्यवसाय खोल्ने समयावधि परिमार्जनको लागि गरिएको सुझाव कार्यान्वयन भएकोमा जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला कोभिड व्यवस्थापन समितिलाई धन्यवाद ज्ञापन पनि गरिएको छ ।

‘निषेधाज्ञाको अत्यहीन श्रृंखला समस्याको समाधान हैन’,महासचिव विजुक्छेद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ अत ः पोखरा उद्योग वाणिज्य संघ स्वास्थ्य मापदण्ड पूरा गर्दै सबै व्यवसाय खोल्ने वातावरण निर्माणको लागि सरोकारवाला निकायहरुसँग जोडदार माग गर्दछ ।’

कोभिडकै कारण संघका पूर्वअध्यक्ष, कार्यसमिति सदस्य र साधारण सदस्य गुमाउनु परेको र धेरैजना व्यवसायी संक्रमित भएको तथ्य पेश गर्दै विज्ञप्तिमा स्वास्थ्य मापदण्ड कायम गर्दै व्यवसाय गर्न आग्रह पनि गरिएको छ ।