खुत्रुकेको पैसाले मानव सेवाआश्रमलाई सहयोग

 

पोखरा, भदौ २ ।

केहि बर्षदेखि तिजको दर खाने नाममा होटल तथा पार्टी प्यालेसहरुमा अनावश्यक तडकभडक देखाउने चलन बढेपछि यस पटक कास्की प्रशासनले होटल तथा पार्टी प्यालेसमा तिजको दर खाने कार्यक्रमलाई प्रतिबन्द नै लगाएको छ ।

कास्की प्रशासनको यस कार्यलाई समर्थन गर्दै पोखरा १० गिताशान्ति मार्ग महिला समूहका दिदी बहिनीहरुले आफ्नो खुतुर्केको पैसाले मानव सेवा आश्रम छोरेपाटनमा आश्रीत ९२ जना आमा दिदी बहिनीहरुलाई दर खुवाएका छन् ।

संस्थाका ६५ जना सदस्यहरुले आफुले खुत्रुकेमा बचाएर राखेको पैसा संकलन गरेर एकल, असाहय बृद्धाहरुलाई दर खवाएर पुण्य कमाउने काशिसमा लागेको संस्थाकी सचिव शान्ति सुवेदीले बताईन । खाना मात्र नभइ महिला आमा दिदी बहिनीहरुका लागि प्रति सदस्यले एक एक वटा साडी समेत उपहार दिएको उनले बताईन ।

उक्त संस्थाले केहि बर्षदेखि पोखराको रामघाट शिवमन्दिर परिसरमा तिजको दिनमा तडकभडक रहित खुल्ला तिज गित प्रतियोगिता समेत आयोजना गर्दै आईरहको सुवेदीले जानकारी दिइन् ।

संस्थाका सदस्यहरुको सहयोग बाट १७ हजार ४ सय ७५ रुपैया सहयोगका साथै ३४ वटा साडी उपहार दिईएको र तीजको बेलामा यसरी एकल, अनाथ, असाहय आमा दिदीबहिनीहरुलाई भेटेर दर खुवाउन र सहयोग दिन पाउँदा आफ्नै आमा दिदी बहिनी र दाजुभाईलाई भेटे जस्तो अनुभुती भएको संस्थाकी अध्यक्ष माया दुवाडीले बताईन ।

आफना वडाका महिला दिदीबहिनीहरुले यसरी खुत्रुकेको पैसाले दर खुवाउनका साथै सहयोग गरेर मानव सेवामा एउटा उदाहरणिय काम गरेको पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य दिपक बहादुर थापाले बताए । थापा महिला समूह सहित मानव सेवा आश्रम छोरेपाटन मै सहभागि भएका थिए ।