खाल्डा पुर्ने अभियानमा महानगर !

पोखरा, असोज ३ ।
बर्खाका कारण पोखराका सबैजसो सडकमा खाल्डाखुल्डी छ । यसले दुर्घटना समेत निम्त्याउन थालेको छ । महानगरपालिकाले जतिसक्दो छिट्टो खाल्डाखुल्डी पुर्ने तयारी थालेको छ । सहरका मूख्य मूख्य सडकमा दशैं अगाडि नै खाल्डो पुरिसक्ने महानगरले जनाएको छ ।
खाल्डो पुर्नका लागि वडा कार्यालयमार्फत महानगरपालिकालाई निवेदन दिनुपर्छ । मौखिक रुपमा आएको खबरलाई पनि सम्बोधन गर्ने गरिएको भएपनि लिखित निवेदन आउँदा काम गर्न सजिलो र छिटो हुने महानगरपालिकाका योजना महाशाखा प्रमुख तथा बरिष्ठ इञ्जिनियर शारदामोहन काफ्लेले बताए ।
दशैंको समयमा खाल्डोका कारण कोहीपनि दुर्घटनामा नपरोस भनेर पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीको निर्देशनमा खाल्डो पुर्ने अभियान शुरु भएको हो । मेयर जिसीले चुनावी घोषणा पत्रमा महानगरका सडक भत्किएको खबर आएको २४ घण्टाभित्र खाल्डो पुरिसक्ने घोषणा गरेका थिए ।
मेयरको सपथ खाएको एक महिना भित्रमा र्‘यापिड रेस्पोन्स टीम’ बनाएर खबर पाएको २४ घण्टा भित्रै खाल्डो पुर्ने ब्यबस्था गर्ने जिसीले घोषणा गरेपनि हनिमुन पिरियड १ सय दिनसम्म कुनै खास कदम चाल्न नसकेका उनले अहिलेभने खाल्डो पुर्ने अभियान सुरु गरेका हुन् ।
पहिलो चरणमा महानगरका मूख्य क्षेत्र महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, विरौटा, राष्ट्र वैंकचोक, लेकसाइड, सृजनाचोक, सिमलचौर, मालेपाटन, प्रस्याङ, सिद्धार्थचोक, भीमसेनटोल, विन्ध्यबासिनी, हरिचोक, बगर, नदीपुर, पालिखेचोक, रानीपौवा, हस्पिटलचोक, अमरसिंहचोक, रामबजारलगायतका ठाउँहरुका अधिकांश खाल्डाखुल्डी पुर्न थालिएको काफ्लेले जानकारी दिए । उनका अनुसार लेखनाथको बुढीबजार, अर्घौंचोक, तालचोक, भण्डारढीक, सिसुवा, बेगनासलगायतका ठाउँहरुमा पनि खाल्डो पुर्ने काम भइरहेको छ । काफ्लेले भने,’अधिकांश खाल्डाखुल्डी पुरिसकिएको छ,’केही बाँकी ठाउँहरुमा पुर्ने काम भइरहेको छ ।’