खन्चुवा कर्मचारी–घुस पनि खाने, कसम पनि खाने ? (१० दिनमै १६ जना पक्राउ)

पोखरा, असोज २७ ।
३ दिनअघि पोखराको मालपोत कार्यालयबाट २ जना कर्मचारी घुससहित पक्राउ परे । ५० हजार घुससहित अधिकृत ख्यामनारायण पौडेल र खरिदार सञ्जय शर्मा अख्तियारको फन्दाामा परेका हुन् ।

त्यसको भोलिपल्टै पोखराको सरकारी वकिल कार्यालयका सहन्यायधिबक्ता मोटो रकम सहित पक्राउ परे । ५ लाख रुपैयाँ नगद सहित सुरेन्द्रबहादुर थापालाई पक्राउ गरिएको हो ।

सरकारले १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो । सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए । तर, घुस लिन छाडेनन् ।

प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक साता नबित्दै १६ कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ परे । १९ जना विरुद्ध अख्तियारले भ्रष्टचार मुद्दा दायर गर्यो ।

‘बाहिर घुस खाँदिनँ भनेर शपथ लिनुको कुनै अर्थ देखिएन’, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले भने, ‘घुस खाने कर्मचारी पक्राउ पर्न कम भएको छैन ।’