खगेन्द्रको शीरमा लिगलिगे राजाको श्रीपेच

गोरखा, असोज १० ।
देशमा राजतन्त्र इतिहास भइसक्यो । तर, दौडेर राजा हुने परम्परालाई निरन्तरता दिँदै गोरखाको पालुङटारस्थित लिगलिग विकास अभियानले गरेको लिगलिगे दौड प्रतियोगिता पूरा गरी नेपाली सेनाका धावक खगेन्द्र रानाभाटले यस वर्षको लिगलिगे राजाको उपाधि जितेका छन् ।
चेपेघाटबाट लिगलिगकोटसम्म १३.५ किलोमिटर दौड एक घण्टा दुई मिनेटमा पूरा गरी डोटी घर भएका खगेन्द्रले श्रीपेच पहिरिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि खेलकूद मन्त्री राजन केसीले श्रीपेच पहि¥याउँदै ५० हजार नगद पुरस्कारसहित पुरस्कृत गरेका हुन् । यस्तै नेपाली सेनाकै रामजी बस्नेतले एक घण्टा तीन मिनेटमा निर्धारित दूरी पार गरी दोस्रो हुँदै ३० हजार पुरस्कार जिते ।
नेपाली सेनाकै अनिश बस्नेतले एक घण्टा ५ मिनेटमा दौड पूरा गरी तेस्रो भए । उनले २० हजार नगद पुरस्कार जिते । ११७ जना धावकले दौड प्रतियोगितामा भाग लिएको आयोजक संस्थाका उपाध्यक्ष सरोज देवकोटाले जानकारी दिए । दौडमा महिला र पुरुष धावकहरु सहभागी भएका थिए ।
मन्त्री केसीले लिगलिग दौडलाई निरन्तरता दिन मन्त्रालयले बजेटको व्यवस्था गर्ने जनाए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य हिरन्यमान श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, महासमिति सदस्य प्रकाशचन्द्र दवाडी, उद्योग वाणिज्य संघका महासचिव भगवानबाबु मास्के, कांग्रेस नगर सभापति चन्दनबाबु खत्री, पालुङटारका मेयर दीपकबाबु कडेंललगायतले ऐतिहासिक लिगलिगकोटमा पर्यटक भित्र्याउनु पर्नेमा जोड दिए ।