क्षेत्रीय प्रशासकलाई हटाएर प्रदेशमा सचिव खटाउने तयारी

काठमाण्डौं, माघ ५ ।
सातै प्रदेशका प्रमुख (गभर्नर) लाई सरकारले शुक्रबारदेखि कार्यक्षेत्रमा पठाउने तयारी गरेको छ । तर, देशको प्रशासनिक संरचना भने अझै पनि केन्द्रीय ढाँचामै चलिरहेको छ । पुरानै संरचना अनुसार ५ वटा विकासक्षेत्रमा राज्यका प्रमुख प्रतिनिधिका रुपमा विशिष्ट श्रेणीका कर्मचारीको नेतृत्व कायमै छ । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा राजेश्वरमान सिंह, हेटौंडामा रेश्मिराज पाण्डे, पोखरामा लक्ष्मण अर्याल, सुर्खेतमा सुरेश प्रधान र दिपायलमा लक्ष्मीराम पौडेल क्षेत्रीय प्रशासकका रुपमा कार्यरत छन् । सरकारले प्रदेश प्रमुख नियुक्त गरिसकेपछि आफ्नो व्यवस्थापनका लागि दबाब दिन उनीहरु नै सिंहदरबार धाउन थालेका छन् । सरकारले समयमै प्रदेशमा कर्मचारी खटाउन नसक्दा यस्तो समस्या निम्तिएको हो ।
सरकारले एक महिनाअघि नै क्षेत्रीय प्रशासन कार्यालय हटाएर सातै वटा प्रदेशमा सचिव खटाउने तयारी गरेको थियो। तर, त्यस सम्बन्धी प्रस्ताव अघि नबढ्दा अहिले कठिनाइ परेको छ । क्षेत्रीय प्रशासकका रुपमा कार्यरत सचिवहरुलाई नै प्रदेशको सचिवमा खटाउने गृहकार्य भए पनि त्यो पछि रोकिएको थियो । प्रदेशको अस्थायी राजधानी नतोकिएका कारण विगतमा सचिवहरुलाई प्रदेशमा खटाउन नसकिएको र अब छिट्टै खटाउने मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । जबकि नेपाल प्रहरीलाई भने ४ महिनाअघि नै प्रदेश कमान्डमा लगिसकिएको छ ।
मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयका प्रवक्ता डिल्लीराम शर्मा प्रदेशहरुमा सचिव खटाउने तयारी भइरहेको बताउँछन्। ‘देश नयाँ संरचनामा जाने अवस्थामा यस्तो समस्या आउनुलाई ठूलो मान्नु हुँदैन,’ उनले भने, ‘अब क्षेत्रीय प्रशासन कार्यालय छिट्टै हट्नेछन् ।’ सामान्य प्रशासन मन्त्रालयले प्रदेशहरुमा सचिवको नेतृत्वमा कर्मचारी खटाउने तयारी गरिरहेको छ । तर, कर्मचारी समायोजन विधेयक कानुन मन्त्रालयमै रोकिएको छ । कर्मचारी समायोजनभन्दा पहिला सरकारले अवकाशका लागि प्रक्रिया अघि बढाइसकेको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपाने प्रदेशहरुमा कर्मचारी खटाउने गृहकार्य भइरहेको बताए ।