को हुन् सांसद धम्काएर फिरौती माग्ने समूह ? (पढ्नुस् विस्तृतमा)

प्रकाश ढकाल
पोखरा, माघ १८ ।
सांसद र ब्यवसायी धम्काएर फिरौती असुली गर्ने ४ जनालाई कास्की प्रहरीले विहिबार सार्वजनिक गरेको छ । मुख्य योजनाकार नलबहादुर गुरुङ (शंकर) सहित अन्य तीनजनालाई कास्की प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा स्याङजा टक्सारका शंकर सहित स्याङजा फेदीखोला घर भई पोखराको जरेबर बस्दै आएका अमृत खड्का, पर्वत कुश्मा घर भई पोखरा ६ जरेबरमै बस्ने रामु सुवेदी र स्याङजा फेदीखोलाका शिव कार्की छन् ।  
कास्की क्षेत्र नम्बर २ (ख) का सांसद विन्दुकुमार थापा, ब्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई मोटो रकम माग गर्दै धम्काएका थिए । उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्धामा बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ । २ करोड रुपैयाँ माग गर्दै उनीहरुले विभिन्न नम्बरबाट धम्क्याएका थिए । थापाले ज्यानको सुरक्षा माग गर्दै १ महिना अघि नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बोधराज गिरीले पनि उजुरी दिएका छन् ।
‘पुस १५ देखि निरन्तर धम्की आईरहेको थियो । दिनमा ५ पटकसम्म फोन आउँथ्यो, थापाले डिएनए नेपाल डटकमसँग भने–त्यसपछि मैले प्रहरीमा उजुरी दिएको हुँ ।’ उनका अनुसार मनोज पुनको नाम लिएर तिनीहरुले फोन गरेका थिए । ‘मनोज पुनको मान्छे हुँ भन्दै बुटवलको घटना दोहोरिएला भनेर धम्क्याउँथे । कहिले नेपालबाट कहिले भारतबाट फोन आईरह्यो, थापा भन्छन्–एउटै मान्छे भारत पुगेर फोन गर्ने अनि नेपाल फर्किने गरेको रहेछ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
अरु घटनामा संलग्न भए नभएको पनि अनुसन्धान भैरहेको कास्की प्रहरी प्रमुख अशोक सिंहले बताए । फरार मनोज पुनको नाम लिएर उनीहरुले फिरौती मागेका अनुसन्धानको क्रममा खुलेको छ ।