को बन्ला २९ औं प्रधानन्यायाधीश ? यसअघि अयोग्य भनेर हटाईएका जोशी पनि सिफारिसमा

काठमाण्डौं, मंसिर ११ ।
न्याय परिषद्ले सर्वाेच्च अदालतको २९ औं प्रधानन्यायाधीशका लागि योग्यता पुगेका स्थायी न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाइएको छ । सर्वाेच्च अदालतमा ३ वर्षसम्म स्थायी न्यायाधीशका रुपमा कार्यरत व्यक्ति प्रधानन्यायाधीश हुने व्यवस्थाअनुसार २ जना न्यायाधीशको नाम भावी प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदमा सिफारिस गरिएको न्याय परिषद्का सचिव नृपध्वज निरौंलाले बताए ।

जसमा यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम पठाएको छ । परिषद्ले उनीहरुको विस्तृत विवरण पनि परिषद्मा पठाएको छ । अब केही दिनमै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको सिफारिस गर्नेछ । तर, २८ औं प्रधानन्याधीशमा अस्वीकृत भइसकेका जोशीको नाम पनि न्याय परिषद्ले संवैधानिक परिषद्मा पठाएकाले २९ औं प्रधानन्यायधीश जोशी कि राणा भन्ने प्रश्न उब्जेको छ ।

स्रोतका अनुसार संवैधानिक परिषद्को बैठक बसेर उचित निर्णय लिनेछ । उक्त निर्णयबाट एक जनाको नाम प्रधानन्यायधीशका लागि संसदीय सुनुवाई समितिमा पठाइनेछ । समितिले संवैधानिक परिषद्बाट पठाएको नाम स्वीकृत गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने कानूनी व्यवस्था छ ।

प्रधानन्यायाधीशको पद रिक्त हुनभन्दा एक महिना अघिनै प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम न्यायाधीशहरूको नाम पठाइएको हो । गत साउन २५ गते प्रधानन्यायाधीशमा नियुक्त भएका ओमप्रकाश मिश्र ६५ वर्ष उमेर पुगेका कारण पुस १७ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् ।