को बन्ला पहिलो पार्टी

काठमाण्डौं, असोज ४ ।
प्रदेश नं.२ को स्थानीय तह निर्वाचनको मंगलबार अबेर रातिसम्मको प्रारम्भिक नतिजाअनुसार प्रमुख ठूला दलकै वर्चस्व रहने देखिएको छ । ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरमलगायत दल प्रदेश नं. २ मा पहिलो शक्ति बन्ने दाबी मधेसकेन्द्रित दलले गरे पनि प्रारम्भिक परिणामले ठूला दलकै वर्चस्व रहने सम्भावना देखाएको हो ।
प्रारम्भिक परिणाममा कांग्रेस सबैभन्दा अगाडि देखिएको छ भने कांग्रेसलाई पछ्याउन एमाले, माओवादी र मधेसका क्षेत्रीय दल तीव्र प्रतिस्पर्धा गरिरहेका छन् ।प्रारम्भिक नतिजालाई आधार बनाउँदा राजनीतिक दलले आफूले दाबी गरेअनुसार र बाहिर अनुमान लगाइएजस्तो परिणाम कसैको पनि नआउने देखिन्छ ।
प्रदेश नम्बर दुई अन्तर्गत आठ जिल्लाका कुल १ सय ३६ स्थानीय तहमध्ये झन्डै सय हाराहारीमा जित्ने दाबी गरिरहेको कांग्रेसको परिणाम पनि उसले दाबी गरेजस्तो नहुने देखिएको छ । ठूला दलकै वर्चस्व देखिने गरी परिणाम आउने सम्भावना बढे पनि कांग्रेसले आफूले भनेअनुसार परिणाम मधेसमा नल्याउने देखिएको हो । एमाले मधेसमा कमजोर हुने र निर्वाचन परिणाम एमालेको प्रतिकूल आउने बताइए पनि ऊ मधेसमा कमजोर देखिएको छैन ।
विश्लेषक चन्द्रकिशोर झा भन्छन्, ‘एमालेले लिएको मधेस नीतिका कारण निर्वाचनमा उसको परिणाम निराशाजनक आउने व्यापक प्रचारबाजी थियो, तर परिणाम त्यसको विपरीत आएको छ । एमालेको संगठन खलबल नभएका कारण मधेसमा उसको स्थिति बलियै देखिएको हो ।’ माओवादी केन्द्रलाई मधेसमा कमजोर रहेको बताइए पनि उसको स्थिति प्रचारमा आएजस्तो देखिएको छैन । मधेसमा माओवादीको अवस्था पहिलेभन्दा सुध्रिएर गएको प्रारम्भिक परिणामले देखाउँछ ।
विश्लेषक झा अहिलेको प्रारम्भिक परिणामले पहिलो र दोस्रो चरणको निर्वाचनमा जस्तै मुख्य दल नै मधेसमा बलियो शक्तिका रूपमा उदाउने अनुमान लगाउँछन् । ‘०४६ सालदेखि नै मुख्य दलले मधेसमा ‘पावर एक्सरसाइज’ गरेको र त्यही कारण उनीहरूको नै अहिले पनि मधेसमा वर्चस्व कायम रहने प्रारम्भिक नतिजाले देखाएको छ,’ झा भन्छन् ।