‘कोसेली’ लिएर कास्कीकोटमा राजीव

पोखरा, पुस २५ ।
‘चुनावका बेला जनतासँग भलाकुसारी हुँदा धेरै सहयोगका बाचा गरेको थिएँ । वहाँहरुले विस्वास गरिदिनुभयो । मैले जनताको मन र मत दुवै जितें । अहिलेसम्म मेरो जिम्मेवारी जनताको हातमा थियो, अव वहाँहरुको जिम्मेवारी मेरो काँधमा सरेको छ ।’ पोखरा २४ कास्कीकोटको लप्सेढुंगामा भेटिएका राजीव चुनावपछि पहिलो पल्ट त्यहाँ पुगेका हुन् । सांसदमा निर्वाचित भएपछि उनी धेरै ठाउँमा घरदैलो हिडे । ‘प्रदेश सांसद भएपछि सपथ पनि नखाइ जनताको दैलो चहार्दा अलिक फिक्का महशुस हुने रैछ । चुनाव जितेपछि गाउँ आएन भन्ने पर्ला भनेर घरदैलो चाहीँ तत्कालै गरें, उनी भन्छन्–धेरै ठाउँमा जनताका माग र अपेक्षाको चाङ थियो । त्यो पीडा देख्न नसकेर अहिले आँफैले सहयोग गर्न थालेको छु ।’ सबैजसो ‘माननीय’ औपचारिक कार्यक्रममा भुलिरहँदा राजीव भने गाउँका जनतासँगै ब्यस्त छन् । प्रदेशको जिम्मेवारी पनि नपाउँदै गाउँ छिरेका उनी खाली हात जान सकेनन् ।
उनै राजीव पहारीले मंगलबार कास्कीकोटको लप्सीढुंगामा एक कार्यक्रमका बीच खानेपानी पाईप हस्तान्तरण गरे । ‘प्रचारको बेला हिँड्दा कति ठाउँमा पानी खान पनि पाईएन । त्यो पीडा मैले विर्सेको छैन, उनी भन्छन्–पानीको मुहान छ, पाईप नभएपछि घण्टौं हिडेर खोलामा पुग्नुपर्छ । सामान्य खर्चमा उम्किने समस्या अहिले देखि नै सम्बोधन गर्न थालेको छु ।’ उनले बुधबार ७० हजारको लागतमा १५ सय मिटर पाईप स्थानीय कल्याणकारी आमा समुहको रोहवरमा गाउँमा छोडेका हुन् । जनताले काम गर्न पठाएकाले आगामी ५ बर्ष जनताकै सेवक भएर काम गर्ने राजीव बताउँछन् । चुनावका बेला गरेका प्रतिबद्धता ५ बर्षभित्र पूरा गरीछाड्ने उनले दोहो¥याए । ‘पहिलो चरणमा ८ महिनाभित्र सबै स्कुलमा युरो गार्डको ब्यवस्था गर्छु । ८ महिनाभित्रै सबै स्कुलमा ब्यवस्थित शौचालको ब्यवस्थापन मिलाउँछु । सामान्य बाटाघाटा सम्याउने काम १ महिनामै हुन्छ, उनले थपे–अबको ५ बर्ष कास्की ३ (ख) विकसित निर्वाचन क्षेत्रको रुपमा स्थापित गरेरै छाड्छु । यो मेरो बाचा हो ।’
५ बर्षभित्रको कार्ययोजना समेत तयार गरिसकेको उनले सुनाए । जनताको अपेक्षा विहान बेलुकीको दैनिकीसँग जोडिएको भन्दै उनले शून्यतामा महल भन्दा यथार्थमा झुपडी बनाएर दिन सके राजनीतिको सार्थकता हुने विश्वास ब्यक्त गरे । हस्तान्तरण कार्यक्रममा भेला भएका सर्वसाधारणले लामो समयदेखिको माग अहिले आएर पूरा भएको प्रतिक्रिया दिए । ‘पूराना माननीयसँग धेरै पटक खानेपानी पाईप माग्यौं । खानेपानीकै लागि हामीले भोट हालेर जितायौं, स्थानीय ईन्दिरा सुवेदी भन्छिन्–दश बर्षअघिको योजना अहिले पूरा भएको छ ।’ पाईप पाएपछि स्थानीयले पहरेखोलाबाट मुहान खोलेर पानी ल्याउने योजना बनाएका छन् ।
वडाध्यक्ष ओम सुवेदीले कास्कीकोटलाई सरकारले आरक्षणको ब्यवस्था गर्नुपर्ने बताए । ‘खानेपानी छैन, स्कुल छैन, बाटो छैन । यस्तो ठाउँलाई कसरी महानगर भन्ने ?, उनले प्रश्न गरे–हामीलाई पनि महेन्द्रपुल र लेकसाईड बन्नुछ । सरकारले सीमित समयका लागि भएपनि आरक्षणको ब्यवस्था गरेर समानुपातिक विकास मोडलमा हामीलाई प्राथमिकताका साथ हेर्नुपर्छ ।’ खानेपानी, सडक र गुणस्तरीय शिक्षा स्थानीयको माग छ ।