कोरोना पीडितलाई थापाको संयोजनमा ४ लाखभन्दा धेरै सहयोग

पोखरा, जेठ १ ।
कोरोना भाइरसका कारण पीडित बनेका विभिन्न ब्यक्तिहरुलाई गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्गत वान एनसीसी वान प्रोजेक्ट विभागले आर्थिक सहयोग गरेको छ । सहयोगीसँग सहयोग जुटाएर दुखमा परेका ब्यक्तिहरुलाई सहयोग गरिएको हो ।

एनआरएनए उपाध्यक्ष रवीना थापाको संयोजनमा सहयोग संकलन र वितरण गरिएको हो । थापाले कोरोना संक्रमणको सुरुमै गो फण्ड मार्फत सहयोगको आह्वान गरेकी थिईन् । ४ हजार ३१ अमेरिकी डलर संकलन भएको र विभिन्न देशका नेपालीहरुलाई सहयोग गरिएको थापाले जानकारी दिईन् ।

जस अन्तर्गत यूकेमा ६०० अमेरिकी डलर, ईटालीमा ३००, साईप्रसमा ४५५, स्पेनमा ४५५, एनआरएनए युएसए मेरिल्याण्ड च्याप्टरमा ५००, अमेरिका रिजन आईसीसी–५०० (गोफण्ड), बानालाई १००१ र वमन हेल्प फण्डमा २२० अमेरिकी डलर सहयोग गरिएको उनले बताईन् ।

प्र्रत्यक देशमा एनआरएनए र नेपाली संघ संस्था मार्फत आपतकालिन राहत उपलब्ध गराईएको हो । ‘अहिले तत्कालै समस्यामा परेकाहरुलाई सहयोग गरिएको छ,’ उनले भनिन्, ‘रकम सहयोग गर्नुहुने र यसमा पहल गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद र आभार ब्यक्त गर्दछु ।’

उनका अनुसार कोरोनाबाट मृत्युवरण गरेका ब्यक्तिको परिवार, कोरोना संक्रमित, विद्यार्थी र आधिकारिक कागजात नभएर दुखका साथ विदेशमा बस्न बाध्य नेपालीहरुलाई सहयोग गरिएको हो ।