कोरोना पीडितलाई तत्काल राहत दिन एनआरएनए महिला तथा यूवा विभागको सहयोग संकलन सुरु

पोखरा, चैत २६ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत वान एनसीसी वान प्रोजेक्ट एवं महिला तथा युवा विभागले कोरोना भाइरसबाट पीडित ब्यक्ति र परिवारको सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ । एनआरएनए उपाध्यक्ष तथा विभाग संयोजक रवीना थापाको अध्यक्षतामा अप्रिल ६ तारिखमा बसेको टेलिकन्फरेन्स बैठकले तत्कालै राहत दिने गरी अर्थ संकलन अभियान सुरु गर्ने निर्णय गरेको हो ।

‘कोरोना भाइरसका कारण विश्वभरी आतंक मच्चाएको छ । विश्वभर रहेका नेपालीहरु अहिले निकै कठिन परिस्थितिबाट दैनिकी विताइरहनुभएको छ,’ थापाले भनिन्, ‘वहाँहरुको पीडामा थोरै भएपनि तत्काल राहत उपलब्ध गराउने निर्णय हाम्रो समितिले लिएको छ । १ हप्ताभित्रै रकम संकलन गरेर राहतको कार्यक्रम सुरु गर्छौं ।’ बैठकले ४ प्रकृतिका पीडितहरुलाई सहयोग गर्ने निधो गरेको छ ।

कोरोना संक्रमणका कारण मृत्युवरण गरेका ब्यक्तिको परिवारलाई पहिलो प्राथमिकतामा राहत उपलब्ध गराईने छ । यस्तै, कोरोना संक्रमणपछि उपचाररत ब्यक्ति, अध्ययनको शीलशीलामा विश्वका विभिन्न देशमा बसिरहेका विद्यार्थीहरु र विभिन्न कामले नेपाल बाहिर रहेका र सम्बन्धित देशको आवश्यक कागजपत्र नभएका ब्यक्तिहरुलाई सहयोग गर्ने तयारी छ ।

‘पहिलो चरणमा विदेशमा भएका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई राहत उपलब्ध गराऔं भनेर यस्तो निर्णय गरिएको हो । अहिले नेपालमा त्यति धेरै असर पुगिसकेको पनि छैन,’ थापाले अघि भनिन्, ‘विदेशमा गरिसकेपछि नेपालमा पनि दैनिक ज्यालामजदुरी गर्ने र कठिन परिस्थितिका ब्यक्तिहरुलाई सघाउछौं ।’

बैठकमा अमेरिका, क्यानडा, बेलायत, स्पेन, स्विट्जरल्याण्ड, इटाली, फ्रान्स, नेपाल लगायत बिभिन्न क्षेत्रहरुबाट आफ्नो टास्कफोर्सका प्रतिनिधि र सल्लाहकारहरुले भाग लिएका थिए । तीनवटै बिभागले संयुक्त रुपमा आर्थिक सहयोग संकलन अभियान शुरु गरिसकेको छ । सहयोग राशीलाई पारदर्शी बनाउन गो–फण्ड खाता खोलिएको र लिंकहरु बिभिन्न माध्यमबाट शेयर भइरहेको अध्यक्ष थापाले बताईन् ।

‘सहयोगका लागि पहिले रकम संकलन गर्नुपर्ने छ । १ हप्ताभित्रमा १० हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्य छ, सानो सानो सहयोगले धेरैको पीडामा मलम लगाउन सकिन्छ,’ उनले भनिन्, ‘एनआरएनएका सबै राष्ट्रिय परिषद एनसीसीहरु, संघ–संस्थाहरु र विश्वभर रहेका नेपाली समुदायलाई यो अभियानमा आफ्नो क्षमता अनुसार सहयोग गर्नुहुन हार्दिक आग्रह गर्दछु ।’

हालसम्म करिब १ हजार २ सय डलर संकलन भैसकेको छ । सहयोग गर्न चाहनेले  लिंक मार्फत गर्न सक्नेछन् ।