कोरोनाभाइरस :अमेरिका, थाइल्याण्ड र दक्षिण कोरियामा पनि संक्रमण फैलियो

 

एजेन्सी, माघ ८ ।

चीन सरकारले कोरोनाभाइरसको नियन्त्रण र रोकथाम निकै गंभिर अवस्थामा पुगेको जनाएको छ ।

शुरुमा कोरोनाभाइरसको संक्रमण देखिएको वुहान शहर नजान र शहरमा रहेकाहरुलाई अन्यत्र नजान सुझाव दिइएको छ ।

१ करोड १० लाख मानिस बसोबास गर्ने उक्त शहरका बासिन्दालाई भीडभाडमा नजान र सार्वजनिक जमघट कम गर्न पनि अधिकारीहरुले सुुझाव दिएका छन् । संक्रमण फैलिएपछि पहिलो पटक सरकारी भनाइ सार्वजनिक भएको हो ।

यसअघि जनावरबाट मानिसमा सर्ने भनिएको यो भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । पहिलो पटक वुहानमा देखिएको कोरोनाभाइरसको संक्रमण अरु शहरहरुमा पनि फैलिएको छ ।

यस्तै अमेरिका,थाइल्याण्ड र दक्षिण कोरियामा पनि संक्रमण देखिएको छ । कोरोनाभाइरसका कारण ९ जनाको मृत्यु भैसकेको छ । ४ सय ४० जना संक्रमित भेटिएको सरकारी तथ्यांक छ र तर यो संख्या निकै बढी रहेको अनुमान गरिएको छ ।

वुहान शहरका कम्तिमा १५ जना चिकित्सा क्षेत्रमा काम गर्नेहरुमा पनि यो संक्रमण भेटिएको छ । जंगली जनावरको अवैध कारोवार हुने सी फुड मार्केट यो रोगको उद्गम क्षेत्र मानिएको छ ।