‘कोरोना’को महामारी फैलिने आशंकामा ताजमहल बन्द

 

एजेन्सी, चैत ४ ।

भारतको प्रसिद्ध पर्यटकीयस्थल ताजमहल ‘कोरोनाभाइरस’ संक्रमणको महामारी फैलिने आशंकामा बन्द गरिएको छ ।

संस्कृति मन्त्रालयले दैनिक दशौं हजार पर्यटक आउने ऐतिहासिक स्मारक अहिले बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ ।

ताजमहलमा दैनिक करिब ७०,००० पर्यटक जाने गरेको बताइन्छ ।

महामारी फैलिन नदिन अन्य ऐतिहासिकस्थल तथा संग्रहालय पनि बन्द गरिएको छ ।

भारतमा ‘कोभिड–१९’ का कारण तीनजनाको मृत्यु भएको छ भने १२६ जना संक्रमित भेटिएका छन् ।

सरकारले शैक्षिक संस्था, सपिङ मल, रेस्टुराँ, मदिरालय, व्यायामशाला तथा धार्मिकस्थल जान र सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ । त्यहाँ झन्डै ६,००० जनाको परीक्षण गरिएको छ ।

भारत आउन चाहने विदेशीलाई दिइएको अधिकांश प्रवेशाज्ञा एक महिनाका लागि स्थगित गरिएको छ । भारत आउन पाउनेले पनि अनिवार्य १४ दिन ‘क्वारेन्टाइन’मा बस्नुपर्ने छ ।

भारतमा सबै विद्यालय, कलेज मार्च ३१ सम्म बन्द गरिएको छ ।