कोरोनाका कारण नेपाल–भारत मैत्री बस सेवा बन्द

धनगढी, चैत ४ ।
कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफंण्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए ।

यसबाहेक गौरीफंण्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ । कैलालीको त्रिनगर प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महादेव भट्टले धनगढीबाट नयाँ दिल्लीका लागि छुट्ने बस सेवा सोमबारबाट बन्द गरिएको बताए ।

यता सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले कोरोना भाइरसको कारण यातायात क्षेत्रमा प्रतिकुल प्रभाव परेको बताए । लामो तथा छोटो दुरीमा चल्ने बस सेवामा यात्रुको संख्या घट्दै गएकोले यातायात सेवा प्रभावित भएको हो ।

धनगढीदेखि काठमाडौँसम्म दैनिक १७ वटा बस सञ्चालन हुने गरेकोमा कोरोना भाइरसको कारण यात्रुको आवागमन घट्दा १० वटा बस मात्र चलाउनुपर्ने देखिएको सापकोटाले बताए । धनगढीदेखि विराटनगर, वीरगञ्ज, जनकपुर, बुटवल, पोखरा जस्ता शहरका लागि छुट्ने बस सेवा कटौती गर्नुपर्ने देखिएको सापकोटाले बताए । पहाडी क्षेत्रका रुटमा मानिसको आवागमन घट्दै गएको छ ।