कोरिया कहर–पैसा बुझाउन पोखरामा २ दिनदेखि लाईन (फोटो फिचर)

पोखरा, चैत ८ ।
रोजगारीका लागि कोरिया जानेहरुका लागि रोजगार अनुमति प्रणाली (ईपिएस टपिक) परीक्षाको आवेदन आजदेखि खुलेको छ । वैदेशिक रोजगार विभागको ईपीएस टपिक कोरिया शाखाका अनुसार इच्छुकहरुले चैत १७ गतेसम्म आवेदन भर्न सक्ने जनाएको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन पाउनेछन् ।
ईपीएस टपिक नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने भएपनि बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै छ । भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ । आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गर्न सकिनेछ ।
यसपटक ७ हजार एकसय जना उत्तीर्ण गर्ने तयारी छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३ सय कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । पोखरामा मात्रै ९ हजारभन्दा बढीले कोरिया भाषा पढिरहेका छन् । स्याङजा, पर्वत, गोरखा, बागलुङ, म्याग्दी, तनहुँ, लमजुङ लगायतका जिल्लाका परीक्षार्थीले पनि पोखराबाट नै आवेदन दिनेछन् । यो क्षेत्रमा मात्रै झण्डै १५ हजार परीक्षार्थी छन् । पोखरामा फाराम भर्न नपाएकाहरु काठमाण्डौं जानुपर्नेछ ।