’कोठी’ चलाउने वडाअध्यक्षलाई थुनामा नराख्न सर्वोच्चको आदेश

काठमाण्डौं, बैशाख ६ ।
चेलीबेटी बेचबिखन प्रकरणमा नुवाकोट जिल्ला अदालतबाट ३७ वर्ष कैद सजाय ठहर भएका वडा अध्यक्ष सुनबहादुर तामाङलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै थुनामा नराख्न आदेश गरेको हो ।

नुवाकोटकै दुई महिला सुन्तली तामाङ र सानुमैया तामाङलाई बिक्री गरेको मुद्दामा जिल्ला अदालत नुवाकोटले २०६८ असोज ६ गते दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय गरेको थियो । सो मुद्दामा प्रहरीले तामाङलाई ६ वर्षपछि पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेपछि तामाङको हकमा उनका छोरा प्रदीप तामाङले गत २०७४ माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए । १० वर्षभन्दा कम सजाय हुने मुद्दाको हकमा पुनरावेदन नबसी धरौटी राखेर अदालतको अनुमतिमा मुद्दा लड्न पाउने व्यवस्था छ ।

करिब २ सय महिला बेचेको, वेश्यालय चलाएको अभियोगमा ७ वर्ष कैद सजायको फैसला गरेको थियो

अर्को मुद्दामा गाउँका करिब २ सय महिलालाई बेचेको, वेश्यालय चलाएको लगायत सबै अभियोगमा जिल्ला अदालत नुवाकोटले गत २०७४ चैत ९ गते सुनबहादुरलाई ३७ वर्ष कैद सजाय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । उनीसहितका तीन जनालाई यस्तो सजाय सुनाइएको थियो ।

तामाङलाई २०७४ पुस ७ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो । उनी विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता भएको थियो ।