कोइरालाले सम्हालिन् प्रदेश प्रमुखको कार्यभार

हेटौंडा, माघ ७ ।
नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिबार साँझ पदभार ग्रहण गरेकी छन्। हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेकी हुन्। पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा कोइरालाले विकास र समृद्धिको पक्षमा सबैले मिलेर काम गर्नुपर्ने बताइन्। ‘संविधानको भावना र मर्मअनुसार देश विकासमा अघि बढ्न म सबैलाई अनुरोध गर्छु’, उनले भनिन्।

उनलाई मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, मकवानपुरका प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, क्षेत्रीय कार्यालयका प्रमुखलगायतले स्वागत गरेका थिए। क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको कार्यालय र निवास राखिएको छ।

आज (आइतबार) बिहान ९ः४५ बजे ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेललाई प्रदेशसभाको अध्यक्षताका लागि प्रदेश कार्यालयमा कोइरालाले शपथग्रहण गराउने, त्यसपछि क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुख कोइरालाले शपथ खुवाउने कार्यक्रम रहेको क्षेत्रीय प्रशासक पाण्डेले बताए।

शपथग्रहणका लागि ३ नम्बर प्रदेशका एक सय १० सांसदमध्ये अधिकांश शनिबार साँझै हेटौंडा आइपुगेका छन्। प्रदेशसभाको बैठक ज्येष्ठ सदस्य डोरमणि पौडेलको सभाध्यक्षतामा बस्ने पाण्डेले बताए।

क्षेत्रीय शिक्षा निर्देशनालयमा प्रदेशसभा सदस्यको शपथग्रहण हुने भएपछि सभाहलमा शनिबार दिनभर लगाएर कर्मचारीले सरसफाइ र कुर्सी व्यवस्थापन गरे। यसका साथै क्षेत्रीय शिक्षा निर्देशनालय भवन परिसर र बसपार्कनजिक तरकारी बजार र आसपासका सडकसमेत सफा गरिएको छ। ‘हतारमा कार्यक्रमको तयारी गर्नुपरेकाले अलि बढी दौडधूप भएको छ’, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बुढाले भने, ‘शनिबार साँझसम्ममा हामीले प्रदेशसभाका लागि सबै तयारी सकाएका छौं।’