के हुँदैछ पुष्पा केसी र मायाबोधी लामा मृत्युको घटना ?

पोखरा, असोज १६ ।
अघिल्लो साता पोखरा पुम्दीभुम्दीमा १० बर्षिया बालिकालाई बलात्कार गरी हत्या गरियो । प्रहरीले केही घण्टा भित्रै अपराधी समात्यो । भोलिपल्टै खुदीमा श्रीमतिको हत्या गरे । तत्कालै प्रहरीले अपराधी पक्राउ गर्यो । केही घटनाहरुमा तत्कालै अपराधी समातेर प्रहरीले मुद्धा समेत चलाईसकेको छ ।

तर केही घटनाहरु अझैपनि बाहिर आउन सकेको छैन । पछिल्लो समय कास्कीमा केही शंकास्पद घटनाहरु भए । महिलालाई लक्षित गरेर भएका घटनाहरुमा धेरै शंका उपशंका पनि चलिरहेका छन् । विशेषगरी पोखरा लामाचौरकी पुष्पा केसी र पामेकी माया बोधी लामाको घटना बढी शंकास्पद भन्दै प्रहरीले पनि विशेष चासोका साथ अनुसन्धान गरिरहेको छ ।

तर घटना नजिक पुग्न निकै कठिन भएको एसपी ओम राना बताउँछन् । ‘घटना भएको धेरै लामो समयपछि हामीले खवर पायौं । घटनास्थलमा कुनै प्रमाणहरु फेला पारेनौं, उनले भने–अहिलेपनि धेरै एंगलबाट खोजी चलिरहेको छ । टेक्नोलोजीबाट पनि छानवीन गरिरहेका छौं । अलि समय लाग्छ । तर रिजल्ट आउँछ ।’

पुष्पाको शव भदौ ८ गते घर नजिकै भेटिएको थियो । अघिल्लो दिन स्कुलबाट घर फर्केकी उनी तरकारी किन्न भन्दै चोकमा झरेकी थिईन् । सोही ठाउँबाट बेपत्ता उनी भोलिपल्ट मृत भेटिएकी हुन् । परिवार र आफन्तले बलात्कारपछि हत्या भएको आरोप लगाएपनि डाक्टरले बलात्कार नभएको बताएको छ । तर घटनाबारे कुनै तथ्य फेला परेको छैन ।

भदौ २८ गते पामेकी मायाबोधी लामा यसैगरी मृत भेटिईन् । नुवारथोकबाट हराएकी उनको शव रातोपैरा नजिक कुलामा भेटिएको हो । रक्सीले मातिएकी उनलाई पनि कसैले हत्या गरेको हुन सक्ने आशंका धेरैको छ । तर घटना अनुसन्धान अघि केही बोल्न सक्ने अवस्था छैन । प्रहरीले दुवै घटनालाई सुक्ष्म रुपले अनुसन्धान गरिरहेको जनाएको छ ।