केन्यामाथि नेपालको रोमाञ्चक जित

काठमाण्डौं, माघ २९ ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले केन्यामाथि रोमाञ्चक जित हात पारेको छ । नेपालले सोमबार भएको खेलमा केन्यालाई ३ विकेटले पराजित गरेको हो । १ सय ७८ रनको लक्ष्य नेपाल अन्तिम बल बाँकी छदा ७ विकेटको क्षतिमा पूरा गर्यो । डिभिजन–२ मा नेपालले तेस्रो जित हात पारेको हो । यसअघि नेपालले पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो । दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको नेपालले तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गरेको थियो । जितसँगै नेपालको शीर्ष २ मा पर्ने सम्भावना बढेको छ ।
नेपालको जितमा पाँचौ विकेटका लागि आरिफ शेख र रोहित कुमार पौडेलको साझेदारी महत्वपूर्ण रह्यो । शेख र पौडेलबीच छैटौ विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । दुईले २४.५ ओभर खेलेका थिए । आरिफ ४२ रनमा आउट भए । उनले ८२ बल खेल्दा २ चौका प्रहार गरे । यस्तै रोहित कुमार पौडेलले ४७ रनमा रनआउट भए । अन्तिम ओभरको तेस्रो बलमा रोहित रनआउट हुँदा नेपाल दबाबमा परेको थियो । तर अन्तिम १ बल बाँकी छदा सोमपाल कामीले २ रन लिएपछि नेपालले जित हात पारेको हो । कप्तान पारस खड्काले चौथो विकेटका लागि शरद भेषावकरसँग ५५ रनको साझेदारी गरेका थिए । पारस ४२ रन बनाएर आउट भए । उनले ४४ बल खेल्दा ३ चौका र २ छक्का प्रहार गरे। यद्यपी शरद भेषावकर फेरि सस्तैमा आउट भए । शरद १९ रनमा बनाएर आउट भए । ५७ बल खेलेका शरदले १ चौका प्रहार गरे ।
नेपालको सुरुवात भने खराब रह्यो । खेलमा डेब्यु गरेका अनिलकुमार साह दोस्रो ओभरमा शून्य रनमा आउट भए । यसअघिका तीन खेलमा मौका नपाएका अनिललाई विकेटकिपर ब्याट्सम्यान दिलीप नाथको स्थानमा खेलाइएको हो । ओपनर ज्ञानेन्द्र मल्ल ९ रन बनाएर आउट भएका थिए । उनले १४ बल खेल्दा १ चौका हिर्काए । दीपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट भए । बलिङतर्फ केन्याका इम्यानुयल बुन्डीले सुरुवाती ३ विकेट लिँदा नेपाल अप्ठ्यारोमा परेको थियो। नेहेमोन ओडिम्बो र नेल्सन ओडिम्बोले १–१ विकेट लिए । यसअघि नामिबियाको एन्डरर्स मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन जोड्यो ।
केन्याका लागि ओपनरद्वय इरफान करिमले ४२ तथा एलेक्स ओबाडाले ४१ रनको योगदान दिए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले १–१ विकेट हात पारे ।