कृषि बिमाप्रति किसान अनभिज्ञ

नवलपरासी, असोज ३ ।
सरकारले किसानलाई कृषि पेशामा लाग्न प्रेरित गर्ने गरी कृषि बिमा लागू गरे पनि नवलपरासीका किसानमा कृषि बिमातर्फ खासै आकर्षण भएको पाइँदैन । व्यावसायिक कृषि पेशामा लागेका केही किसानको आकर्षण भए पनि अधिकांश किसान अझै कृषि बिमा भनेको के हो, यसले कृषकलाई के फाइदा हुन्छ भन्नेबारे अनभिज्ञ छन् ।
पछिल्लो समय नवलपरासीमा केरा खेती, तरकारी खेती, चौपायाँ, धान, मकै, गहु बाली लगायतका क्षेत्रमा कृषि बिमा हुँदै आएको छ । त्योमध्ये नेपालको कृषि क्षेत्रकै मुख्य पेशा मानिएको धान, गहुँ, मकै बालीमा खासै बिमा गर्ने गरिएको नपाइएको जिल्ला कृषि विकास कार्यालय नवलपरासीका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए ।
उनले बिमा कम्पनीले यस्ता निर्जीव कृषि बिमाबाट भाग्ने गरेका कारण बिमा हुन नसकेको बताए । उनले कृषक तथा कृषकका अगुवा सरोकारवालासँ’ग पटक(पटक यस विषयमा बुझाए पनि बिमा हुन नसकेको स्वीकार गरे ।
नवलपरासीमा तरकारी खेती, माछापालन, केरा खेतीतर्फ भने बिमा हुन थालेको छ । त्यस्तका अलवा पशु चौपायाँ गाईभैंसी लगायतको बिमा गर्नेक्रम पनि बढ्न थालेको छ । तथापि यस्ता बिमामा पनि किसानहरुको उल्लेख्य सहभागिता नभएको गैरेले बताए ।
कृषि सहकारीमार्फत् समूह बनाई सरकारले कृषि विकास बैंक मार्फत् बिमा रकम अनुदान दिएर कृषि क्षेत्रमा बिमा गर्ने गरिएको कृषि विकास कार्यालय कावासोतीका प्रमुख मोहदत्त शर्माले बताए ।
शर्माका अनुसार कृषि विकास बैंक कावासोतीले अहिले कावासोतीको कावासोती तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था मार्फत कावासोतीमा केरा खेती र तरकारी खेतीको बिमा गरिरहेको छ । कावासोतीमा अहिले करिब तीन सय हेक्टरको हाराहारीमा केरा खेती हुने गरेपनि कावासोती १९ जना केरा कृषकको १६ विघा केरा खेतीको मात्र बिमा गरिएको छ ।
त्यस्तै, कृषि विकास बैंकले दलदले दुग्ध विकास सहकारी संस्थामार्फत ८० जना पशुपालक किसानहरुको पशु चौपायाको बिमा गर्ने तयारी गरेको छ ।
कावासोतीमा गरिएको कृषि क्षेत्रको तरकारी तथा केरा खेतीको सोमबार अनुगमन गरिएको छ । कृषि विकास बैंक कावासोती, कृषि कार्यालय कावासोती, कावासोती तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था, सञ्चारकर्मी लगायतको टोलीले सोमबार अनुगमन गरेको हो ।
कुनै पनि खेती तथा पशुको निर्धारित मूल्यको ८० प्रतिशतसम्म क्षतिपूर्ति पाउने गरी बिमा गरिएको हो । त्यसका लागि किसानले तोकिएको मूल्यको पाँच प्रतिशतको प्रिमियर रकम सहकारी मार्फत जम्मा गर्नुपर्दछ भने सरकारले किसानले जम्मा गरेको रकमलाई २५ प्रतिशत मानेर बाँकी ७५ प्रतिशत कृषि विकास बैंक मार्फत अनुदान दिने गर्दछ ।
सरकारले बिमाका लागि दिएको अनुदान र किसानले जम्मा गरेको २५ प्रतिशत गरी सतप्रतिशत बनाउंदा यदि कुनै त्यो वर्ष कुनै क्षति भएन भने किसानलाई ३५ प्रतिशत फिर्ता गर्दछ । ५५ प्रतिशत बिमाकै लागि सहकारीमा बीउ पुँजीको रुपमा राखिदिने र १० प्रतिशत कार्यालय सञ्चालनका लागि खर्च गर्न पाउने व्यवस्था रहेको कृषि विकास बैंक कावासोतीका प्रमुख मोहदत्त शर्माले बताए ।
केरा किसान कृष्णप्रसाद सापकोटाले गत वर्ष हावाहुरीले केरामा ठूलो क्षति भएको र आफूले बिमा गरेकै कारण सन्तोषजनक क्षतिपूर्ति पाएको बताए । उनले नहुने भन्दा मल बीउ र गोलमेलको पैसा उठेको बताए ।
अर्का किसान उमापति चापागाईले नहुने मामाभन्दा काना मामा भने झैं किसानका लागि क्षति भएपछि केही हुँदै नहुनेभन्दा बिमाबाट पाइने क्षतिपूर्ति भएको राम्रो भएको बताए ।