कुहिरोसँगै छेकिए गीतकार सुक गुरुङ

पोखरा, पुस ६ ।
छेक्यो छेक्यो देउराली डाडाँ हुस्सु र कुहिरोले,
छाडेन मलाई जहाँ गएपनि मायाको धुईरोले…..।

नेपथ्यमै रहेको नेपथ्य व्याण्डलाई यो गीतले एकाएक चर्चित बनाईदियो । युवादेखि बृद्धाबृद्धलाई यो गीतको शब्दले निकै छोयो । गीतका रचनाकार एवं संगीतकार थिए, सुक गुरुङ । गुरुङ धर्तीबाटै सदाका लागि गीतजस्तै नदेखिने गरि कुहिरोभित्र छिरे ।

दोष कसैलाई दिन चाहन्न,
पिउने छु बरु आँखाको आँशु………।

अरुणा थापाले गाएको यो गीत जस्तै गुरुङ कसैलाई दोष नदिने शालिन ब्यक्ति थिए । अरुलाई दोष नदिने उनको मृत्युमा आफ्नै मृगौला दोषी बन्यो । लामो समयदेखि दुवै मृगौलाले काम गर्न छोडेपछि उनी नियमित उपचार गराईरहेका थिए । २०७३ सालमा सुक गुरुङ उपचार सहयोग समिति गठन गरेर समितिले नै उपचारमा सहयोग गर्दै आएको थियो ।

उनी उच्च रक्तचाप, मधुमेहको रोगी पनि थिए । २०२२ सालमा लमजुङमा जन्मिएका सुक पोखरा स्थित डाँडाको नाकमा बस्दै आएका थिए । ३ दिनअघि उपचारका लागि अस्पताल भर्ना भएका उनको आइतबार बिहान पोखराको चरक अस्पतालमा निधन भएको परिवार श्रोतले जनाएको छ ।

आँखैमा झलझली,
हितको दौतरी………।

पछिल्लो समय आँखाको दृष्टी समेत गुमाएका गुरुङले नै यो गीतको सिर्जना गरेका थिए । राजु लामाले गाएको चर्चित गीत ‘भाइटीकामा भेट्न आउँला’ गीत रचना गर्ने पनि गुरुङ नै थिए । गुरुङका ‘इशारा भाग १ देखि ३ सहित निवेदन, सूचना, विरानो माया गरी ११ सांगीतिक एल्वम बजारमा छन् भने उनैका गीत, कविता र मुक्तक समेटिएको पुस्तक ‘ए मेरा अन्तरवेदना’ प्रकाशित छ ।

धेरैले गुरुङको निधनप्रति दुख ब्यक्त गरेका छन् । उनको निधनले नेपाली संगीत क्षेत्रमा ठूलो नोक्सानी परेको हिमाली सांस्कृतिक परिवारका पूर्व अध्यक्ष मेनकाजी गुरुङले बताए । गीत संगीतबाटै परिचित गुरुङ संगीतप्रेमीको मानसपटलमा सँधै रहने छन् ।