कुन प्रदेशमा कसको सरकार ? (पढ्नुस बिस्तृतमा)

प्रकाश ढकाल
पोखरा, पुस ३ ।
नयाँ संविधानले ब्यवस्था गरेको संघीय संरचना अनुसार नै देशमा तीन तहको चुनाव सम्पन्न भैसकेको छ । ३ वटा पटके स्थानीय तहको चुनाव सकेपछि मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव भयो । सम्पन्न चुनावको मतपरिणाम पनि आईसकेको छ । तीनै तहको चुनावमा नेकपा एमाले सबैभन्दा ठूलो दल भयो । त्यो पनि अधिक सीट फरकका साथ । प्राप्त मतपरिणाम अनुसार देशका कुनैपनि प्रदेशमा नेपाली काँग्रेसको सरकार बन्ने देखिँदैन । अर्थात् सबै प्रदेशमा गठबन्धनले सरकार बनाउने सम्भावना छ । यद्यपी प्रदेश नम्बर २ मा भने संयुक्त नतिजा आएकाले यो प्रदेशको सरकार कसरी बन्छ अहिले नै निक्र्यौल भैसकेको छैन ।
१ र ३ नम्बर प्रदेशको सरकार एमाले एक्लैले बनाउन सक्ने बहुमत छ । अरु प्रदेशमा एमालेले अरु कुनै दलसँग सहमति गर्नैपर्छ । यद्यपी एमालेले चुनावको बेलामा नै नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण सहितको चुनावी तालमेल गरेको थियो । माओवादीले साथ दिएमा ६ वटै प्रदेश गठबन्धनको सरकार हुन्छ । प्रदेश २ मा भने मधेसकेन्द्रित दुई दल राजपा र संघीय समाजवादी फोरम ठूला दल भएका छन् । ९३ कुल प्रदेशसभा रहेको प्रदेश १ मा एमालेले मात्रै ५२ सीट जीतेको छ । माओवादीको १५ सीट जोड्दा गठबन्धनको ६७ सीट हुन्छ । उता काँग्रेसले २१, संघीय फोरमको ३, राप्रपा १ र स्वतन्त्रले एउटा सीट जितेका छन् । १ नम्बर प्रदेशमा सरकार बनाउन ४७ सीट भए पुग्छ । माओवादीको मत जोड्दा गठबन्धनले दुई तिहाई पाएको छ । त्यसैले यो प्रदेशमा एमाले नेता शेरधन राई र भीम आचार्य मुख्य मन्त्रीका दावेदार हुन् ।
२ नम्बर प्रदेश दोश्रो ठूलो संसद भएको प्रदेश हो । यो प्रदेशको प्रदेशसभा मात्रै १ सय ७ जनाको हुनेछ । यहाँ संघीय समाजवादी फोरम सबैभन्दा ठूलो दल बनेको छ । २९ सीट जितेको फोरम एक्लैले सरकार बनाउने सम्भावना भने छैन । राजपाले साथ दिए सरकार बनाउन आवश्यक सीट पुग्नेछ । फोरम र राजपाबीच अहिलेको गठबन्धन कायम रहेमा उनीहरुले मधेस केन्द्रित दलको मात्रै सरकार बनाउन सक्नेछन् । प्रदेशसभामा फोरमले सबैभन्दा बढी सिट ल्याएका कारण सोही दलबाट मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ । यस्तो भएमा फोरम नेताहरु लालबाबु यादव वा विजय यादवको सम्भावना देखिन्छ । यद्यपि मधेस केन्द्रित दलका नेताहरुले चुनाव अघि मुख्यमन्त्रीको खासै चर्चा गरेका थिएनन् । केही नेताले आफू खुसी चर्चा गराएका भने थिए । फोरमबाट मुख्यमन्त्री नबनेर राजपाले अवसर पायो भने उसका दुई महामन्त्री मनिष सुमन र जितेन्द्र सोनलमध्ये एकले यो अवसर पाउने सम्भावना छ । यो प्रदेशमा एमालेले २१, काँग्रेसले १९, माओवादीले १२ र एउटा सीट स्वतन्त्रले जितेका छन् ।
३ नम्बर प्रदेश एमालेको मात्रै बहुमत भएको प्रदेश हो । देशकै सबैभन्दा ठूलो संसद सदस्य भएको प्रदेशपनि यही हो । यो प्रदेशमा १ सय १० जनाको संसद बन्नेछ । सरकार बनाउन आवश्यक ५६ सीटमध्ये एमाले एक्लैसँग ५८ सीट छ । त्यसमा माओवादीको २३ सीट जोड्दा दुई तिहाई पूरा हुन्छ । एमालेले सरकार बनाए अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीको दावेदार हुन् । अर्का दाबेदारको रुपमा राजेन्द्र पाण्डेलाई पनि अघि सारिएको छ । यो प्रदेशमा काँग्रेसले २१, विवेकशील साझा पार्टीको ३, नेमकिपाको २, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिले १÷१ सीट जितेका छन् ।
४ नम्बर प्रदेश अप्रत्यासित रुपमा काँग्रेसको कब्जाबाट फुत्कियो । देशभरीमा काँग्रेसका लागि सबैभन्दा बलियो प्रदेश ४ नम्बर हो । तर यही प्रदेश सबैभन्दा कमजोर बन्यो । यहाँ पनि एमाले सबैभन्दा ठूलो दल भयो । प्रत्यक्षतर्फको ३६ मध्ये १७ सिट जितेको एमालेले समानुपातिक तर्फबाट भने १० सिट पाएको छ । एमालेको कुल २७ सिट पुगेको छ । सरकार बनाउनका लागि आवश्यक ३१ सिट भने ऊसँग पनि पुग्दैन । त्यसैले माओवादी वा अरु कुनै दलको साथ लिनुपर्छ । १२ सीट जितेको माओवादीलाई साथ लिए सरकार बाम गठबन्धनकै बन्ने निश्चित छ । यहाँबाट मुख्यमन्त्री बनाउन पृथ्वी सुब्बा गुरुङ चर्चामा छन् । यो प्रदेशमा काँग्रेसको १५, जनमोर्चाको ३, नयाँशक्ति २ र स्वतन्त्रले एउटा सीट जितेका छन् ।
एउटै पार्टीको स्पष्ट बहुमत नभएको अर्को प्रदेश हो ५ नम्बर । तर गठबन्धन यो प्रदेशमा पनि उत्तिकै बलियो छ । सरकार गठनका लागि चाहिने ४४ सिट एउटै दलसँग छैन । तर एमालेको सीट नजिकै छ । ४१ सीट जितेको एमाले र २० सीट जितेको माओवादी बीच सहकार्य हुँदा दुई तिहाई नै कट्छ । यहाँ मुख्यमन्त्रीमा एकमात्र चर्चामा रहेका नाम हुन् शंकर पोखरेल । उनलाई भावी मुख्य मन्त्रीकै रुपमा चुनावी चर्चा गरिएको थियो । ८७ सदस्य प्रदेशसभा रहेको यो प्रदेशमा काँग्रेसको २०, फोरमको ५ र राजपाको एउटा सीट छ ।
३ दलले मात्रै चुनाव जितेका ६ नम्बर प्रदेश झनै रोचक छ । एमाले समाहित नहुँदा यो प्रदेशमा कसैले पनि सरकार बनाउन सक्दैन । सरकार बनाउन आवश्यक २१ सीट माओवादी र काँग्रेसको जोड्दा पुग्दैन । तर एमाले एक्लैले पनि सरकार बनाउन सक्दैन । माओवादी र एमाले मिल्दा ३३ सीट गठबन्धनको भागमा पर्छ । यो दुई तिहाई भन्दा धेरै नै बढी मत हो । यो प्रदेशमा माओवादीको मुख्यमन्त्री हुने सम्भावना प्रवल छ । त्यसैले महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री बन्ने सम्भावना छ । माओवादी केन्द्रको तर्फबाट वर्तमान सरकारमा बिनाविभागीय मन्त्री रहेका शाहीले यस पटक कालिकोटबाट प्रदेशसभा ’ख’ बाट जितेका छन् । यो प्रदेशमा मुख्यमन्त्रीको चर्चामा रहेका अर्का नेता हुन्, नरेश भण्डारी । ४० सदस्यीय संसद रहने यहाँ एमालेको २०, माओवादीको १३ र काँग्रेसको ७ सीट छ ।
७ नम्बर प्रदेशमा कुनैपनि एउटा पार्टीले सरकार गठन हुँदैन । यसर्थ सरकार गठनका लागि पनि राजनीतिक पार्टीबीचको गठबन्धन आवश्यक छ । यद्यपी यहाँ एमालेको विकल्पमा पनि सरकार बन्ने गणित छ । ५३ सदस्यीय संसद रहने ७ नम्बरमा सरकार बनाउन २७ सीट चाहिन्छ । एमाले बाहेक सरकार बनाउँदा माओवादी, काँग्रेस र राजपा तीनै दल मिल्नुपर्छ । एमालेसँग माओवादी वा काँग्रेस मिले दुई तिहाई पुग्छ । तर एमाले र माओवादीकै गठबन्धन हुने सम्भावना रहेको यो प्रदेशमा यहाँबाट एमालेका नेता कर्णबहादुर थापा मुख्यमन्त्रीको मुख्य चर्चामा छन् । उनी समानुपातिक सांसद हुने पक्कापक्की छ । थापा मुख्यमन्त्री बन्नकै लागि प्रत्यक्ष छोडेर समानुपातिकतर्फ उम्मेदवार बनेका श्रोत बताउँछ । उनले ०७० सालको संविधानसभा चुनावमा बाजुराबाट प्रत्यक्षमा जितेका जितेका थिए । यहाँ एमालेको २४, माओवादी केन्द्रको १४, काँग्रेसको १२ र राजपाको ३ सीट छ ।