किन रोकियो गण्डकी सरकारले गर्ने कर्मचारी सम्मानको कार्यक्रम ?

पोखरा, फागुन ४ ।
गण्डकी प्रदेश सरकारले बार्षिकोत्सव समारोहमा कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम राखेको थियो । विभिन्न विधामा १८ कर्मचारीलाई सम्मान गर्ने सरकारको तयारी थियो । त्यसका लागि कर्मचारी छनौट समिति नै गठन भएको थियो ।

तर शनिबार आयोजना गरिएको बार्षिकोत्सव कार्यक्रममा कर्मचारीहरु सम्मानित भएनन् । माघ ९ गते बसेको बैठकले विशेष कार्यक्रमका साथ बार्षिकोत्सव मनाउने निर्णय गरेको थियो । त्यतिबेलै कर्मचारीलाई सम्मान गर्ने सरकारको घोषणा थियो ।

बार्षिकोत्सव कार्यक्रमका संयोजक तथा अर्थमन्त्री किरण गुरुङले विहिबार पत्रकार सम्मेलन गरि कर्मचारी सम्मानको तयारी भैरहेको बताए । पुरस्कृत हुने कर्मचारीको छनौट गर्न नसकेका कारण पुरस्कार कार्यक्रम नराखिएको प्रमुख सचिव लक्ष्मीराम पौडेलले बताए ।

‘कार्यक्रम रद्द भएको छैन । स्थगीत मात्रै भएको हो, उनले भने–कर्मचारीका बारेमा बुझ्नुपर्छ । त्यत्तिकै सम्मान गरेको होईन । अर्को कुनै दिन गरौंला भन्ने हो ।’ मन्त्रिपरिषदले नै सर्वोत्कृष्ट निजामती पुरस्कारको हकमा एउटा र उत्कृष्ट तथा प्रदेश निजामती पुरस्कार पाउने कर्मचारी छनोट गर्न समिति नै बनाएको पनि थियो ।

कर्मचारी सम्मानका लागि प्रदेशका सबै मन्त्रालयले विवरण पठाईसकेका थिए । छनौट समितिको पनि ३ पटक सम्म बैठक बसेको थियो । तर प्रमुख सचिव लक्ष्मीराम पौडेलले अहिले सम्मान कार्यक्रम नगर्ने भनेपछि रोकिएको श्रोतले बतायो ।

मुख्यमन्त्री कार्यालयका सचिव लालमणी ओझाका अनुसार मन्त्रिपरिषदले कार्यविधी संशोधन गर्ने र त्यसपछि मात्रै कर्मचारी पुरस्कृत गरिनेछ । कार्यविधीको परिच्छेद ६ अनुसार पुरस्कार वितरण गर्दा पुरस्कार पाउने कर्मचारीलाई सम्मान प्रत्येक वर्षको फागुन ४ गतेको समारोहमा प्रमाणपत्र सहित वितरण गरिने उल्लेख छ ।

प्रदेशभरिबाट १ लाख पुरस्कार सहित सर्वोत्कृष्ट निजामती कर्मचारी १ जना, ७५ हजार राशीसहित २ जनालाई उत्कृष्ट निजामती कर्मचारी र ५० हजार रुपैयाँ नगदसहित १५ जना कर्मचारी हरेक वर्ष सम्मानित हुनेछन् । शनिबारका अन्य कार्यक्रम चाहीँ कार्यतालिका अनुसार नै भएको छ ।