कास्की २ अपडेटः लगातार चौथो पटक बम पड्कियो

पोखरा, मंसिर १४ ।
कास्की २ अन्तर्गत पोखराका विभिन्न मतदान केन्द्रहरुमा बम विस्फोटको क्रम रोकिएको छैन । केही समयअघि मात्रै पोखरा १६ को चण्डिका मतदान केन्द्रमा पनि बम पड्किएको छ । मतदान भैैरहेको अवस्थामा विस्फोट भएपछि मतदाताहरु त्रसित छन् ।

श्रृंखलाबद्ध रुपमा भएको विस्फोटले मतदाता ढुक्कसँग मतदान गर्ने अवस्था छैन । यसअघि यहाँको शान्ति माविमा पनि दुई पटकसम्म विस्फोट भएको थियो । विद्यालयको पर्खाल बाहिर भएका कारण कुनै ठूलो क्षति भने भएको छैन । पोखरा ३३ भरतपोखरी स्थित सरस्वती टिका मावि र पोखरा ९ को नवप्रभात माविको मतदान केन्द्रमा पनि विस्फोट भएको छ ।

मतदाता त्रासकै बीच मतदान भने गरिरहेका छन् । कास्की प्रहरीले सुरक्षामा कमी नभएको दावी गरिरहेपनि सुरक्षा स्थिती खतरामुक्त छैन । विस्फोटबाट मानवीय क्षति नभएपनि त्रास कायम छ । सुरक्षा ब्यवस्थाप्रति प्रश्न चिन्ह उठेको छ ।