कास्की व्याडमिण्टन संघले एकेडेमी शुरु गर्ने

धन बस्नेत
पोखरा, पुस १ ।
कास्की जिल्ला व्याडमिन्टन संघले एकेडेमी सञ्चालन गर्ने निर्णय गरेको छ । आफनो २२ औं वार्षिक साधारण सभामा विभिन्न १० जना विद्यार्थी खेलाडीलाई छनोट गरी शैक्षिक, आवासिय रुपमा सुविधा प्रदान गरी एकेडेमी सञ्चालन गर्ने निर्णय गरिएको हो । आवास सहितको एकेडेमी सञ्चालन भने व्याडमिन्टन संघले नव निर्मित व्याडमिन्टन हल निर्माणपछि शुरु गर्ने जनाएको छ । संघकै पहलमा पोखरा रंगशालाभित्र चारवटा कोर्टसहित व्याडमिन्टन हल निर्माणाधिन छ । जुन यही आर्थिक वर्षभित्र सक्ने लक्ष्य साथ काम अगाडि बढाइएको छ ।
व्याडमिन्टन संघले वर्षेनी विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता गर्दै आएको छ । विद्यालयस्तरबाटै व्याडमिन्टन खेलको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिने प्रतियोगितामा पोखरामा दर्जनौ विद्यालयको सहभागिता हुदैं आएको छ । संघले नयाँ हल निर्माणपछि विभिन्न जिल्लाबाट १० जना विद्यार्थी छनोट गरी एकेडेमी शुरु गरिने कास्की जिल्ला व्याडमिन्टन संघका सचिव दुर्गाप्रसाद जोजिजूले बताए । संघले हल निर्माण गर्न विभिन्न संघसंस्थाबाट सहयोग जुटाएको छ । विदेश बस्नेले पनि सहयोग गरेका छन् । विदेशमा रहेका केशबहादुर गुरुङले ३ लाख मध्ये पहिलो किस्ता स्वरुव डेढलाख रुपैयाँ वार्षिक साधारण सभामा हस्तान्तरण गरिएको थियो ।
संघका कोषाध्यक्ष इन्द्रबहादुर गुरुङका अनुसार हल बनाउन राष्ट्रिय खेलकुद परिषदले ६० लाख रुपैयाँ सहयोग गरेको छ । संघले पनि उत्तिकै रकम संकलन गरेको छ । अहिलेसम्म ८७ लाख रुपैयाँ खर्च भईसकेको निर्माण समिति सदस्य रुद्र घलेले बताए । उनका अनुसार निर्माण कार्य ४० प्रतिशत पुरा भएको छ ।
साधारण सभालाई सम्बोधन गर्दै नेपाल व्याडमिन्टन संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला व्याडमिन्टन संघका सल्लाहकार यदुनाथ अधिकारीले निर्माणाधिन हल नेपालकै गहनाको रुपमा रहेको भन्दै निर्माणपछि पोखरामा अन्तराष्ट्रियस्तरको खेल सञ्चालन गर्न सकिने जिकिर गरे । हल निर्माण गर्न परिषदसँगै संघमा आवद्ध सदस्य लगायत विभिन्न संघसंस्थाले सहयोग गर्नुपर्ने खाँचो औंल्याए । सभामा उत्कृष्ठ सदस्य रमेश श्रेष्ठ तथा गत असोजमा सम्पन्न मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगितामा विजयी खेलाडीहरुलाई सम्मानित गरिएको थियो । यसैबीच यही पुस ५ देखि ८ गतेसम्म काठमाडौंमा हुने व्याडमिन्टनको अन्तराष्ट्रिय सिरिजको लागि कास्की जिल्ला व्याडमिन्टन संघका सदस्यद्वय पुनम र भुगोल गुरुङले सहभागिता जनाउने छन् ।