कास्की माओबादीमा उम्मेदवार छनौट स्थगित

पोखरा, असोज २० ।
वाम एकताको अन्यौलले माओबादी केन्द्र कास्कीमा उम्मेदवार छनौट रोकिएको छ । केही क्षेत्रमा उम्मेदवार टुंग्याएपनि चुनावी गठबन्धनका कारण तत्कालका लागि उम्मेदवार छनौट स्थगित गरिएको जिल्ला अध्यक्ष दिपक कोइरालाले जानकारी दिए । यद्यपी केही क्षेत्रहरुमा उम्मेदवार टुंगिसकेको छ ।
माओबादीले क्षेत्र नम्बर १ मा पूर्वमन्त्री देव गुरुङ र क्षेत्र नम्बर २ मा कास्की ईञ्चार्ज राजकाजी गुरुङ ‘करण’ लाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको छ । यस्तै कास्की क्षेत्र नम्बर २ को (क) मा गंगा पोखरेललाई सर्वसम्मत उम्मेद्वार प्रदेश सांसदका लागि उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष दिपक कोइरालाले जानकारी दिए । बाँकी उम्मेदवारका बिषयमा भने गठबन्धनका कारण छलफल नै स्थगित भएको उनको भनाई छ । ३ नम्बर क्षेत्रमा पार्टीका कास्की सहईञ्चार्ज रामजी बरालसहित पूर्वसभासद दुर्गा विक, भूमी पराजुली र नवराज भण्डारीको नाम चर्चामा छ ।