कास्की प्रहरीको निशानामा जुवाडे

पोखरा, असोज १० ।
कास्की प्रहरीले जुवातासको विकृति हटाउन विशेष अभियान नै थालेको छ । विशेषतः नयाँ प्रहरी प्रमुखको रुपमा एसपी अशोक सिंह पोखरा आएपछि धमाधम जुवाडेहरु पक्राउ परेका छन् । मंगलबार पनि कास्की प्रहरीले पोखराका दुई ठाउँबाट एक लाख ९२ हजार २० रुपैयाँ नगदसहित १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । प्रहरीले पोखरा लेखनाथ महानगरपालिका–१३ संगम टोलस्थित सन्तोष श्रेष्ठको घरबाट ४१ हजार ४ सय ७५ रुपैयाँ नगदसहित ६ जना र पोखरा लेखनाथ १७ काउँछेघारीस्थित दिपेन्द्र पौडेलको घरमा जुवा तास खेलिरहेको अवस्थामा १ लाख ५० हजार पाँच सय ४५ रुपैयाँ नगदसहित सात जना गरी १३ जनालाई रंगेहात पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।
खत्रीका अनुसार, सन्तोष श्रेष्ठको घरबाट पक्राउ पर्नेहरुमा पोखरा १३ संगमटोल बस्ने हरि तामाङ, किशोर परियार, मिलन गुरुङ, राजेन्द्र नेपाली, सोभित नेपाली, सन्तोष श्रेष्ठ (घरधनी) छन् । यस्तै दिपेन्द्र पौडेलको घरबाट पक्राउ पर्नेहरुमा पोखरा लेखनाथ महानगरपालिका–१७ बस्ने ३६ वर्षीय दिपेन्द्र पौडेल (घरधनी), स्याङ्जा पुतली बजार नगरपालिका–५ घर भई हाल पोखरा १७ बस्ने बोधराज रेग्मी, स्याङ्जा पुतली बजार नगरपालिका ५ घर भै पोखरा ३ नदिपुर राजु रेग्मी, स्याङ्जा पुतली बजार नगरपालिका ५ घर भई पोखरा १७ प्रकाश रेग्मी रहेका छन् । यस्तै पर्वत मोदी गाँउपालिका १ घर भई पोखरा १७ बस्ने अनिल क्षेत्री, पर्वत कुश्मा नगरपालिका ९ घर भई हाल पोखरा ५ बस्ने रामकृष्ण पौडेल र पोखरा ९ बस्ने अमर खनाल रहेका प्रहरी प्रवक्त खत्रीले जानकारी दिए ।