कास्की तीनको बजेट बाँडफाँड

पोखरा, कात्तिक १ ।
एमाले नेता तथा संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र पूर्वाधार विकास कार्यक्रम तर्फको बजेट बाँडफाँड गरेका छन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी ३ करोड ५० लाख रुपैयाँको कार्यक्रम तथा योजना सार्वजनिक गरेका हुन् ।
विनियोजित बजेट मध्ये अधिकांश बजेट सडक र भवन निर्माणमा छुट्याईएको छ । ५० लाख रुपैयाँको निर्वाचन क्षेत्र विकास कार्यक्रममा अधिकारीले भवन निर्माण गर्न १९ लाख ७५ हजार विनियोजन गरेका छन् भने बाटोमा १९ लाख विनियोजन गरेका छन् । उनले भवनतर्फ ढुङ्गेसाघु बृद्धाआश्रम बनाउनका लागि १० लाख, ९ नम्बर वडामा शुभकामना समाज घर निर्माण गर्न ३ लाख, ३३ नम्बर वडाको खैरेनी टोल विकास संस्थाको भवन बनाउन ३ लाख, ३३ कै सिद्ध मन्दिर निर्माणका लागि ३ लाख ७५ हजार रुपैयाँ विनियोजन गरेका छन् ।
बाटोमा ५ नम्बर वडाको सुनौलो मार्ग निर्माण र धारापानी मार्ग ढलान बाटोका लागि ३÷३ लाख, १७ नम्बर वडाको लामा टुँडा मार्ग ३ लाख, २१ नम्बर वडाको पाखुरीडाँडा जलदेवी मोटरबाटो र भविष्य निर्माण विद्यालय जाने बाटोका लागि ३÷३ लाख रुपैयाँ र ३३ नम्बर वडामा मालागिरी सिँढी मार्ग निर्माण गर्न ४ लाख रुपैयाँ विनियोजन गरेको अधिकारीले जानकारी दिए । यसबाहेक १७ नम्बर वडाको विरुवाटोलमा खानेपानी आयोजनाका लागि २ लाख र ६ नम्बर वडाको गौरीघाट पार्क निर्माण गर्न २ लाख, ७ नम्बर वडाको गहते पार्क बनाउन ३ लाख, वडा नम्बर ८ मा महिला सिलाई कटाई तालिमका लागि ३ लाख ५० हजार क्षमता विकास शिर्षक अन्तर्गत विनियोजन गरेका छन् । यसबाट ७५ हजार रुपैयाँ कार्यालय सञ्चालनका लागि छुट्याएका छन् ।
अत्याधिक बजेट रहेको निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमतर्फ पनि सडक र भवन प्राथमिकतामा परेको छ । ३ करोड बजेटमध्ये अधिकारीले सडकका लागि मात्रै १ करोड ८५ लाख छुट्याएका छन् भने ६० लाख भवन बनाउन खर्चिएका छन् । बाटोतर्फ पोखरा १७ स्थित गाई गौंडा पुल्चोक मोटरबाटो बनाउन ४० लाख, ५ नम्बर वडाको मनकामना मन्दिर बाटो निर्माण गर्न २० लाख, ८ नम्बर वडाको उर्जामार्ग सडक तथा नाली निर्माण गर्न १५ लाख, ९ नम्बर वडाको शान्तिदर्शन मार्ग स्लाव कलभर्ट निर्माण गर्न १० लाख, १७ नम्बरको शिव–बुद्ध मार्ग र भयरथान मार्ग निर्माणका लागि १०÷१० लाख, १७ नम्बरकै सिमलटुंडा बाटो निर्माणमा १० लाख, २१ नम्बर वडा पर्ने लेवाडे कात्तिके पानी बाटो, झ्याउरीखेती चापाको रुख मोटरबाटो, लिकुरे सल्लेरी एकहाते मोटरबाटो, शिवालय थाप्ले तिलाहर ग्रामिण सडक र प्रगती मोटरमार्ग निर्माणका लागि १०÷१० लाख, ३३ नम्बर वडाको ठूलपाखा बाटो र तल्लो खैरेनी, भँयरगुफा मोटरबाटो निर्माण गर्न १०÷१० लाख रुपैयाँ विनियोजन भएको छ ।
भवनतर्फ पोखरा ४ स्थित बुढानिलकण्ठ मन्दिर संरक्षण र पोखरा थियटर हलका लागि १०÷१० लाख, ६ नम्बर वडामा सार्वजनिक शौचालय बनाउन १० लाख, ३३ नम्बर वडामा वरपौवा सामुदायिक भवन, शिशुकल्याण मावि कम्पाउण्ड र जिब्रेढुंगा आमा समूह भवन बनाउन १०÷१० लाखका दरले विनियोजन भएको छ । यस्तै, अधिकारीले पोखरा ७ मा खानेपानी ट्यांकी निर्माणका लागि १० लाख, २१ मा बाँझि पोखरी निर्माण १० लाख, फेवा पावर हाउस नहरमाथि जाली राख्न १५ लाख, २१ को काल्छेखोला खानेपानी आयोजनालाई १० लाख, १७ नम्बर वडाको कुहिने यज्ञशाला निर्माण गर्न १० लाख विनियोजन गरेका छन् ।
योजना सार्वजनिक कार्यक्रममा बोल्दै उनले देश विकासका लागि बहुमतको सरकार आवश्यक रहेको बताएका छन् । बहुमतीय सरकार नभएसम्म विकासले गति लिन नसक्ने भन्दै उनले स्थिर सरकार भएमात्रै विकासमा सहज हुने बताए । उनले सरकारकै क्षमता नभएका कारण धेरै आयोजनाहरु अलपत्र परेको जानकारी दिए । राष्ट्रिय गौरवका आयोजनाहरूले अहिले निरन्तरता पाएपनि छिट्छिटो हुने सरकार परिवर्तनले गति लिन नसकेको गुनासो गरे । उनले विकास समितिको सभापति भएपछि सुस्तरुपमा रहेका विकास आयोजनालाई गति दिने काम आफ्नो समितिले दिएको जिकीर गरे ।
दुईपटक कास्कीबाट संसदमा विजयी भइसेकेका अधिकारी यसपटक कास्कीको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि एमालेबाट सिफारिसमा परेका छन् । यद्यपी ४ नम्बर प्रदेशका लागि एमालेबाट मुख्य मन्त्रीको दावेदार समेत रहेका अधिकारी पार्टीको निर्णयले उम्मेदवारी घोषणा गर्ने बताउँछन् ।