कास्की जिससमा चोरी, सुरक्षा गार्डले चोरे पैसा

पोखरा, असोज २९ ।
जिल्ला समन्वय समिति कास्कीमा चोरी भएको छ । राजश्व शाखाको काण्टरबाट ३ लाख ७७ हजार ९ सय ५० रुपैयाँ चोरी भएको जिसस कास्कीले जनाएको छ । चोरीमा जिससकै सुरक्षा गार्ड डम्बरबहादुर गुरुङले पैसा चोरेको अनुसन्धानका क्रममा खुलेको छ ।
प्रहरीले फकाएर सोध्ने क्रममा आफूले नै सेफको छेउमा सानो प्वाल बनाएर ८ हजार ५ सय रुपैयाँ निकालेको स्वीकार गरेका छन् । उनले उक्त रकम कार्यालय परिसरकै धूपीका बोटभित्र लुकाएर राखेका थिए । गुरुङले कार्यालयको १०६ नम्बर कोठाको दराज खोलेर त्यसभित्र रहेको सेफको एक छेउमा सानो प्वाल पारेर रकम निकालेको घटनास्थलको अनुसन्धानपछि प्रहरीले जनाएको छ ।
घटना शुक्रबार राति ११ बजेतिरको हो । शुक्रबार राति नै ती गार्डले समितिका एक कर्मचारीलाई फोन गरेर चोरीको बारेमा जानकारी गराएका थिए । त्यसलगत्तै घटनास्थल पुगेको प्रहरीले केरकार गर्दा गुरुङले ५ जनाको समूह आएर आफूलाई डोरीले रुखमा बाँधेपछि उनीहरुलाई चाबी दिएको र त्यसपछि भित्र के भएको हो थाहा नभएको बताएका थिए ।
प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लिएको थियो । ब्लु हेभन सेक्युरिटी कम्पनीमार्फत् गुरुङ २ वर्षदेखि जिविसमा काम गर्दै आएका थिए । उनले शुक्रबार राति मादक पदार्थ सेवन पनि गरेको प्रहरीले जनाएको छ ।
कम्पनीबाट अर्को सुरक्षा गार्ड मगाएर जिससमा तैनाथ गरेपछि प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको हो । रातपरेपछि प्रायजसो मादक पदार्थ सेवन गर्ने गुरुङको बानी नै थियो । समितिका कर्मचारीले यो कुरा थाहा पाए पनि बेवास्ता गर्दै आएका थिए ।
घटनामा कार्यालयका अन्य कर्मचारीको संलग्नता रहे नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सेफमा दराजमा ५ लाख ४ सय ४५ रुपैयाँ भेटिएको छ ।
कार्यालयमा जम्मा भएको राजश्व समयमै बैंक दाखिला नगरेको भन्दै जिल्ला समन्वय समिति कास्कीले राजश्व शाखामा कार्यरत खरिदार सुनिल थापालाई कारवाही थालेको छ । थापालाई कारवाही गर्न समितिले शनिबारै पत्र तयार गरिसकेको छ । बिदाको दिन भएकाले आइतबार उनले पत्र बुझ्नेछन् ।
समितिका आन्तरिक लेखा परीक्षक अधिकृत रोमनाथ उपाध्यायले राजश्व जम्मा भएकै दिन वा भोलिपल्ट बैंक खातामा दाखिला गर्नुपर्नेमा सो नदेखिएको बताए । नियमानुसार बैंकमा दाखिला नगरेको रकमको २५ प्रतिशत जविाना थापाले तिर्नुपर्ने भएको छ । जिविसकै पूर्व कर्मचारीका छोरा थापा करारका कर्मचारी हुन् ।
कार्यालय प्रमुखले कारण पुष्टि गर्ने आधार भएमा १५ दिन वा १ महिनाभित्र दाखिला गर्न सकिने प्रावधान छ । तर कुनै आधारबिनै खरिदार थापाले रकम खातामा जम्मा नगरेको पाइएको छ । खातामा राजश्व जम्मा भए नभएको बारेमा लेखा शाखाले पनि वास्ता नगर्नु गैरजिम्मेवारीपना रहेको समितिकै एक कर्मचारीले बताए ।